मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने, राज्य नै एमालेकरण भइरहेको छ की भन्ने शंका
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
585
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको भन्दै सजाय पाउनुपर्ने बताए । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए ।
मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने उनको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पुर्याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौती देखाएर सरकारले मानव अधिकारको उल्लङ्घन गरेको बताए । उनले सुरक्षा चुनौती भए किन चितवन लगेको ? भन्दै प्रश्न गरे । उनले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गरे ।
उनले भने, ‘कांग्रेसीहरुले जबसम्म मानव अधिकारका कुराहरू बुझ्दैनौँ तबसम्म हामी कांग्रेसी हुँदैनौँ । ठगेको छ उसले । उसले सजाय पाउनुपर्छ । तर त्यसको पनि एउटा प्रक्रिया हुन्छ नि राति उठाएर लगिदिने पोखरा । र पुलिसले, गृह मन्त्रालयले यो भन्नेकी हामी प्रोटेक्शन लिन सक्दैनौँ । किन लगेको थियो त ? प्रोटेक्शन दिन सक्दैन भने चितवनमा ? कुरा त्यो हो ।’
सांसद कोइरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुङ्गो नलागेकोप्रति आपत्ति जनाए । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस कमजोर भएको छ । अधिवेशन पनि कहिले हुने टुङ्गो छैन हाम्रो । ०८४ को चुनावपछि गर्ने भनिरहेको छ । तपाईँहरूले साथीहरूलाई भेट्दा कुरा गर्दा अधिवेशन समयमा गर भनेर प्रेसर दिनुपर्यो । सामाजिक सञ्जालमा पनि लेख्न थाल्नुपर्यो । दोस्रो कुरा चिन्ता मलाई कहाँ लागेको छ । राज्य नै एमालेकरण भइरहेको छ की भन्ने देखिरहेको छु । सरकार नै एमालेकरण भइरहेको छ की भन्ने हो । त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्नुपर्छ । मन्त्रीज्युहरुले सहकार्य गर्ने हो त्यसमा कुनै शङ्का नै भएन । तपाईँ हामीले खबरदारी गरिरहनुपर्छ । र मात्रै हाम्रा मन्त्रीहरू सचेत हुनुहुन्छ र एमाले पनि सचेत हुन्छ ।’