arrow

सार्वजनिक जग्गाका टहरा भत्काएर हरियाली उद्यान बनाउँदै महानगर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
lalitpurmetro-81-11-12-(10).jpg

पाटन । ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो । 

टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । “हामीले हरियाली प्रवद्र्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव हुँदै गएको छ, ललितपुरको मुख्य केन्द्र लगनखेलमा रहेका सप्तपाताल पुखु, न्हूँ पुखु र पलेस्वाँ पुखुलाई संरक्षण गर्दै वरिपरिको सुन्दर वातावरण कायम राख्न उद्यानबाट  मद्दत पुग्नेछ,” उनले भने ।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दश आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुनःनिर्माणको चरणमा छ । 

टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ पोखरी छ ।  यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रुपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ ।

टिकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजनाअनुरुप काम भइरहेको महानगर प्रमुख महर्जनले बताए । “ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउन चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्न सडक विभागले अनुमति दिइसकेको छ,” उनले भने ।

लगनखेलस्थित नमूना मच्छिन्द्र स्कुलले पोखरीको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको थियो । विसं २०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो ।

लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम शुरु भएको थियो । 

महानगरका इन्जिनियर प्रदीप पौडेलले डेढ वर्षभित्र पोखरीसहितको उद्यान निर्माण सम्पन्न हुने बताए । “पोखरी खन्ने र पोखरीको माटो परीक्षण गर्ने काम सकिएको छ, पोखरीसँगै बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौँ”, उनले भने ।
 

lalitpurmetro-81-11-12 (1).jpg
lalitpurmetro-81-11-12 (2).jpg
lalitpurmetro-81-11-12 (3).jpg
lalitpurmetro-81-11-12 (4).jpg
lalitpurmetro-81-11-12 (5).jpg
lalitpurmetro-81-11-12 (6).jpg
lalitpurmetro-81-11-12 (7).jpg
lalitpurmetro-81-11-12 (8).jpg
lalitpurmetro-81-11-12 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ