राजावादी पक्षको गतिविधिले राजनीतिक अस्थिरता बढ्दै, मुलुकका लागि खतरा [भिडियो]
प्राप्त गरेका उपलब्धिहरूको नगुमाउन सजग बनौँ र संविधान कार्यान्वयनमा अघि बढौँ
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
694
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन् । उनले मुलुकभर अनावश्यक नाराहरू गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन् ।
उनले भनिन्, ‘यतिबेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् । र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन् । हामीले वर्षौँ सङ्घर्ष गरेर ल्याएका उपलब्धिहरू फेरि खोस्न चाहदैछन् । आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन् । आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरू दिनदिनै कमजोर बन्दै गइरहेका छन् । हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ । हरेक ठाउँमा अनावश्यक नाराहरू गुन्जिरहेको छ । त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ । हामीले प्राप्त गरेका उपलब्धिहरूको नगुमाउन सजग बनौँ र संविधान कार्यान्वयनमा अघि बढौँ ।’
उनले नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको उल्लेख गरिन् ।