राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन शुक्रबारदेखि, हजार प्रतिनिधि सहभागी हुँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ गते शुक्रबारदेखि हुने भएको छ । दुई दिने महाधिवेशन काठमाडौंमा आयोजना हुने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुँदै छन् ।
महाधिवेशन प्रचार प्रसार उपसमितिका संयोजक माधवप्रसाद चम्लागाईंका अनुसार ७७ वटै जिल्लाबाट गरी एक हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् ।
हालसम्म ६ वटा प्रदेश, ७२ वटा जिल्लाका १६० संघीय निर्वाचन क्षेत्र ३२० प्रदेश सभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको चम्लागाईंले जानकारी दिए। मधेस प्रदेशको अधिवेशन भने चैत ४ गते सोमबार महोत्तरी जिल्लाको बर्दिबासमा हुँदैछ।
अधिवेशनको पहिलो दिन चैत ८ गते पार्टी कार्यालय सानेपाको प्राङ्गणमा मञ्च सजावट गरी पार्टीका सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लयायत केन्द्रीय स्तरका नेतृत्वहरू, प्रदेश समितिका सभापति तथा पदाधिकारी र सदस्यहरू, सांसदहरू भातृ तथा शुभेच्छुक संघ संस्थाका नेतृत्व तथा पदाधिकारी र सदस्यहरू लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेतृत्वहरूको बीचमा भब्य रूपमा उत्साहजनक वातावरणमा उद्घाटन समारोह र बन्द शत्र हुनेछ ।
सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू जस्तै शारीरिक अपाङ्गता, दृष्टिसम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, स्वरबोलाइ सम्बन्धी अपाङ्गता, श्रवणदृष्टिविहीन अपाङ्गता, मनोसामाजिक अपाङ्गता, हेमोफिलिया, अटिज्म, बैद्धिक अपाङ्गता र बहुअपाङ्गता तथा गाम्भीर्यताको आधारमा गरेको ४ प्रकारको वर्गीकरण जस्तै पूर्णअशक्तता, अतिअशक्तता, मध्यम र सामान्य अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशनमा सहभागिता रहने छ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुनेछ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने पत्रकारसम्मेलन मार्फत जानकारी दिइएको हो।
संघको विधानअनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छ भने कोषाध्यक्ष तथा दुई जना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उल्लेख छ।
महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको थियो।
महाधिवेशन सम्पन्न गर्न १५ ओटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरी कार्य प्रारम्भ गरिएको छ। महाधिवेशन सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।