arrow

लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशन शुक्रबारदेखि, नेतृत्वमा चम्लागाईंसहित तीन आकांक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
madhav-prakash-vikas-disabl.jpg

काठमाडौँ । नेपाली कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन शुक्रबारदेखि शुरू हुँदैछ । दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि तीन जनाले आकांक्षा राखेका छन् ।

७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि माधवप्रसाद चम्लागाईं, प्रकाश पन्त र विकास थापा आकांक्षी देखिएका छन् । 

हाल अध्यक्ष रहेका पन्त आरक्षण तर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन् । उनले फेरि पनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन् ।

यस्तै चम्लागाईं हाल संघको केन्द्रीय सदस्य छन् । अपाङ्गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका उनले देशको संविधान निर्माणका समयमा र नेपाली कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।

अर्का अध्यक्षका आकांक्षी थापा संघको पूर्व केन्द्रीय सदस्य हुन् । उनी पनि अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा काम गर्दै आइरहेका छन् ।

तर अध्यक्षका बलियो दाबेदार ठानिएका चम्लागाईं भने कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए । 

उनले ०५४ सालदेखि नेविसंघको सक्रिय राजनीति हुँदै नेपाल प्रेस युनियन केन्द्रीय समिति, नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा बसेर अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिसकेका छन् ।

नेपालको संविधानमा ०७४ सालमा अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा समावेश गराउन भूमिका खेलेका उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल आरोहणमा रोक लगाउने कानूनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गरेका थिए । उनको यो पहलपछि समानताको हक अन्तर्गत उक्त कानून खारेज भएको थियो।

प्रथम महाधिवेशन प्रचारप्रसार समिति संयोजकसमेत रहेका चम्लागाईंले अध्यक्षमा आफ्नो दाबी ६ महिनाअघि नै प्रस्तुत गर्दै आएका थिए ।

संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला र खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुनेछ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने व्यवस्था छ।

महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु काठमाडौँ आउन थालेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ