सरकार मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
617
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताए । उनले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप लगाए ।
सांसद कोइरालाले भने, ‘आजको दिन पनि हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । नेपाली कांग्रेस र एमाले सरकारमा नै छौँ । हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, अगाडि बढाउनुपर्यो । भन्न त नहुने, सुशासन पटक्कै छैन भने पनि हुन्छ । उहाँहरूलाई मन लाग्यो एक दुई तीन नम्बर लिस्ट आउँछ, मन्त्रीपरिषद्मा जान्छ, उहाँहरूलाई मन लाग्यो तेस्रो नम्बर लिनुहुन्छ, आफूलाई चित्त बुझेको छ भने एक नम्बर हालिदिनुहुन्छ, त्यसरी गइरहनुभएको छ । सुशासन पटक्कै छैन । हामीले यो कुरा भन्ने की नभन्ने । नेपाली कांग्रेस हामी सत्ता पक्षका हौँ । तर हामी सरकारमा छैनौँ ।’
सांसद कोइरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको बताए । नेपाल अप्ठ्यारोमा परेको बताए । उनले अबका दिनमा कुनै पनि पार्टीको पछि नलाग्ने बताए ।