चुनावी तयारी तीव्र, चम्लागाईं प्रमुख दाबेदार, यस्तो छ तालिका
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
2.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
निर्वाचन समितिले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार बेलुकी ७ बजेसम्म उम्मेदवारी दिने समय रहेको छ । त्यस्तै पहिलो नामावली बेलुकी ७ः४५ बजे सार्वजनिक हुनेछ भने दाबी विरोध ७ः५० देखि ८ः१५ सम्म दिन पाइने छ ।
सो निर्णय भने निर्वाचन समितिले अत्यन्त छिटै अर्थात् १० मिनेटभित्रै दिनेछ । उम्मेदवारीको दोस्रो नामावली चैत ९ गते बिहान ७ बजे सार्वजनिक गरिने भएको छ ।
त्यस्तै मनोनयन फिर्ता लिनेका लागि एक घण्टाको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ९ गते शनिबार बिहान ८ः३० बजे हुनेछ ।
मतदान शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । देशभरबाट झण्डै एक हजार सदस्य महाधिवेशनमा सहभागी रहेका छन् ।
अध्यक्षका लागि २० हजार रुपैयाँ, अन्य पदाधिकारीका लागि १५ हजार रुपैयाँ र सदस्यका लागि मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ दस्तुर बुझाउनु् पर्नेछ ।
कसको छ दाबेदारी ?
केही समयपछि नै उम्मेदवारी दिएकाहरुको नाम सार्वजनिक हुँदै गर्दा त्यसअघि दाबेदारी चार जनाको रहेको छ । यद्यपि नेतृत्वका लागि सर्वसम्मतको प्रयास भइरहँदा अब चुनावबाटै नेतृत्व चुनिने स्थिति बनेको नेतृत्वका लागि प्रयासरत एक अपाङ्ग संघका नेताले बताए ।
उनका अनुसार आकांक्षीहरू कसैले पनि सहमतिका लागि अरुका कुरा सुन्न नचाहेसँगै चुनाव नै हुने स्थिति आएको हो ।
उनीहरुलाई पार्टीको ठूलै तप्का र तहले पछाडिबाट बल दिएसँगै आफूहरु पछाडि नहट्ने मनस्थितिमा देखिएका छन् ।
यद्यपि अहिलेसम्म माधवप्रसाद चम्लागाईंलेमात्र प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।
प्यानल नै खडा नगरेका भए पनि हालका अध्यक्ष प्रकाश पन्थ, विकास थापा र कल्पना खड्काले आकांक्षा देखाएका छन् ।
७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि चार जनाबीच तालमेल मिल्ने सम्भावना कम रहेको बताइन्छ । यद्यपि पन्थले चम्लागाईंलाई साथ दिने बताइरहँदा उनलाई उचाल्ने पक्ष पनि देखिएको एक केन्द्रीय सदस्यले बताए ।
उनी भन्छन्, ‘आरक्षण तर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेकाले पन्थजीले माधवजीलाई समर्थन रहेको संकेत गर्नुभएको छ । तर त्यही संकेत थाहा पाएपछि उहाँलाई उचाल्न नेताहरू लागेका छन् ।
विकासले पनि थापा पूर्व केन्द्रीय सदस्य हुन् भने पछिल्लो समय आएर खड्काले पनि आफू नेतृत्वका लागि लड्ने इच्छा देखिएकी छिन् ।
पूर्व अध्यक्ष भोजराज श्रेष्ठले सकभर सर्वसम्मत बनाउने प्रयास गरेका छन् । उनीसँगै अन्य नेताहरू पनि रहेका छन् । तर पार्टीको तहबाट उचाल्ने प्रयास भएपछि उनीसमेत शुक्रबारदेखि सहमतिको प्रयासमा नलागेको स्रोत बताउँछ ।
अहिलेसम्म मैदानमा हालका केन्द्रीय सदस्य चम्लागाईंमात्र देखिए पनि अन्य तीन आकांक्षीका कारण चुनावबाटै छिनोफानो हुने अवस्था देखिएको निर्वाचनमा होमिएका एक सदस्यले बताए ।
अपाङ्गता भएका व्यक्तिका हक हितका पक्षमा लामो समयदेखि नीतिगत तहमा काम गर्दै आएका चम्लागाईंले देशको संविधान निर्माणका समयमा र नेपाली कांग्रेसको वर्तमान विधान संशोधन गर्दा अपाङ्गता भएका व्यक्तिको राजनीतिक प्रतिनिधित्वको विषयलाई उठाएका थिए ।
उनी कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार बनेका थिए ।
उनले ०५४ सालदेखि नेविसंघको सक्रिय राजनीति हुँदै नेपाल प्रेस युनियन केन्द्रीय समिति, नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा बसेर अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिसकेका छन् ।
नेपालको संविधानमा ०७४ सालमा अपाङ्गता भएका व्यक्तिहरुको मुद्दा समावेश गराउन भूमिका खेलेका उनले अपाङ्गता भएका व्यक्तिहरुलाई सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल आरोहणमा रोक लगाउने कानूनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गरेका थिए । उनको यो पहलपछि समानताको हक अन्तर्गत उक्त कानून खारेज भएको थियो ।
प्रथम महाधिवेशन प्रचारप्रसार समिति संयोजकसमेत रहेका चम्लागाईंले अध्यक्षमा आफ्नो दाबी ६ महिनाअघि नै प्रस्तुत गर्दै आएका थिए ।
संघको विधान अनुसार ५१ जनाको कार्यसमिति रहनेछ ।
जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला र खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुनेछ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित गरिने व्यवस्था छ ।