राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना अझै शुरू भएन, कांग्रेसको कार्यसम्पादनले निकास खोल्ने विश्वास
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
3k
Shares
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको शनिबार भएको निर्वाचनका क्रममा केही अवान्छित गतिविधिबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको छ। तर अहिलेसम्म मतगणना भएको छैन ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएपछि अनावश्यक किचलो निकालेर केही प्रतिनिधिहरु महाधिवेशनको मतदान प्रक्रिया स्थगित गराउन उद्यत देखिएका थिए ।
दृष्टिविहीनहरूका हकमा इच्छाइएको व्यक्तिलाई मतदानमा सहभागी गराउने सहमति विपरीत अचानक मतदान भाँड्ने नियतका साथ इलेक्ट्रोनिक भोटङ मेसिनको माग गरेर प्रक्रिया बिथोल्न खोजिएको थियो ।
निर्देशन समिति र निर्वाचन समितिले शनिबार गरेकै सहमति अनुसार दृष्टिविहीनहरूको हकमा इच्छाइएको व्यक्तिलाई मत हाल्ने व्यवस्था गरिएको थियो । त्यो व्यवस्थालाई स्वीकारे पनि अचानक त्यसको विरोधमा उत्रिएर आफ्नो माग पूरा गर्नुपर्ने अडानमा उम्मेदवारहरु नै अराजकताको नेतृत्वमा लागेको आरोप छ ।
जसका कारण पार्टी कार्यालयको रिसेप्सनका सिसाहरू फोड्ने, गमला फुटाउने, शौचालयका झ्यालका सिसाहरू फोड्ने दुष्कर्म भएको थियो ।
एक्कासी तोडफोडमा उत्रिएपछि उनीहरूलाई पार्टी कार्यालय भित्रै तोडफोड गर्न नदिन प्रहरीले घेरा हालेर राखेको थियो । अन्य अवस्थामा भएको भए उनीहरू प्रहरी हिरासतमा हुन्थे ।
तर आफ्नै पार्टी कार्यालय तोडफोड गर्दासमेत पार्टी नेतृत्वले उनीहरूलाई कार्यालयमा थप क्षति गर्न नसक्ने गरी राखेको थियो । उनीहरूले पहिलो तल्लामा रहेको शौचालयको सिसा फुटाएर फाल्दा मतदानमा लाइन बसेका मतदाताको टाउकोमासमेत लागेको थियो ।
कार्यालयभित्र अराजक रूपमा प्रस्तुत भएपछि निर्वाचन प्रयोजनका लागि सुरक्षा दिन आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएर उनीहरूलाई घेराबन्दी गरेर राखेको थियो ।
केही समय कार्यालयभित्रै उनीहरूले नारा जुलुस पनि गरे । त्यसपछि भने उनीहरुलाई कार्यालय हातामा प्रहरीले घेरा हालेर राखेको थियो । ताकि कुनै व्यक्ति अथवा कार्यालयका सामग्रीमाथि प्रहार नहोस् । त्यसबीचमा उनीहरुलाई सामाजिक सञ्जालमा लाइभ गर्न, मिडियामा कुरा राख्न, इन्टरभ्यु दिन रोकिएको थिएन ।
उनीहरूको हर्कत देखेर उनीहरूलाई नै मत हाल्न लाइनमा बसेका मतदाताले समेत अन्तिम समयमा मत परिवर्तन गरेको सुनाउँदै थिए । विभिन्न किसिमका अपाङ्गता भएका देशभरबाट आएका प्रतिनिधिहरुले उत्साहजनक रुपमा मत खसाएका थिए ।
यद्यपि निर्वाचन प्रक्रिया ढिलो गरेका कारण केही प्रतिनिधि भने फर्किएका थिए ।
यसरी अनेक हतकण्डा गरेर भाँड्न खोजेको चुनावमा ४७० मत खसेको थियो। यदि स्थिति सहज भएको र पूर्व निर्धारित तालिका अनुसार मतदान भएको भए करिब ६०० मत खस्ने अनुमान गर्न सकिन्छ ।
८९२ मतदातामध्ये ५० प्रतिशत भन्दा बढीले मतदानमा भाग लिएर सङ्घको पहिलो महाधिवेशनलाई सफल बनाएका छन् । निर्देशन समितिका सदस्य मदनकृष्ण श्रेष्ठ बाहिरिएपछि भने मतगणना प्रक्रिया रोकिएको छ।
ब्यालेट बक्स पार्टीको लाइब्रेरीमा राखिएको छ। बाहिर ढोकामै सिल गरिएको छ। भित्र सीसीटीभी निगरानी छ र प्रहरीको सुरक्षा पनि छ।
अब आइतबार बस्ने नेपाली कांग्रेसको कार्य सम्पादनको बैठकले संघको मतगणना गर्ने बाटो खोल्ने विश्वास गरिएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।
कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाहीको समीक्षा र पार्टीको भावी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मंगलबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
तर पछिल्लो समय सिर्जित अपाङ्ग संघको निर्वाचनको मतगणना प्रक्रिया अगाडि बढाएर महाधिवेशन सम्पन्न गर्ने भूमिका पनि पार्टीले नै खेल्नुपर्ने भएको छ ।