राष्ट्रिय सभाको बैठकमा आज पनि विपक्षी दलको अवरोध [भिडियोसहित]
शुरु भएन प्रतिनिधि सभाको बैठक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
3.7k
Shares
काठमाडौँ । सङ्घीय संसद्को बैठक विपक्षी दलको विरोधकाकारण आज पनि कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाको बैठक शुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाए ।
राष्ट्रिय सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाज)का सांसद डा वेदुराम भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए ।
“यो मन्त्रिपरिषद्को निर्णय हो । धारा ७६ बमोजिम प्रधानमन्त्री सङ्घीय संसद्प्रति जवाफदेही हुनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुभएको छैन । तर उनले बाहिर अरु कार्यक्रममा संसद्मा जवाफ आवश्यक छैन भन्दै हिँड्नु भएको छ”, उनले भने ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा ध्यानाकर्षण भएको बताउदै सभा सञ्चालन गर्न आग्रह गरेका थिए । “यस विषयमा सभाको मात्र होइन, सिङ्गो राष्ट्रकै ध्यानाकर्षण भएको छ । तर हामीले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकलाई चाँडो पारित गर्नुपर्नेछ । राष्ट्रिय सभाको प्रतिष्ठाको पनि विषय बन्छ”, उनले भने ।
राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संसद्मा अवरोध सिर्जना हुँदा प्रतिस्थापन विधेयक पारित गर्न समस्या हुने भएकाले बैठक सञ्चालनका लागि आग्रह गरे । संविधानले अध्यादेश स्वीकृत भइसकेपछि ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाले संविधानले तोकेअनुसार कस्तो परम्परा बसाउने भन्ने महत्त्वपूर्ण विषय भएको बताए ।
राष्ट्रिय सभाको बैठक एक घण्टाकालागि स्थगित भएको छ । यता प्रतिनिधि सभाको बैठक पनि हालसम्म सुरु हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेकालागि बोलाइएको थियो ।