पूर्वराजा शाहमा संवेदनशीलता देखिएन - विश्वप्रकाश शर्मा [भिडियो]
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २० बुधबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । महामन्त्री शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको जिकिर गरे ।
पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपदैन ? भन्दै उनले प्रश्न समेत गरे । उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गरे । उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरूलाई सुधार गर्दै जानुपर्ने बताए । उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे ।
उनले भने ‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन र ? उनलाई दुख्नु पर्दैन र ? उनको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपदैन ? राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भीर गल्ती भएको महसुस भएको छ भनेर बोल्नु पर्दैन र ? संवेदनशीलता नै देखिएन नि । राजालाई राजगद्धिमा ल्याउने हो भने उन मरेपछि को बस्ने, छोरा, नाति, पनाति । के यो देश पुरुषहरूको मात्रै हो र ? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि । तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ । नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ । सुधार गर्नुपर्छ । ०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौँ भनिराखेका छौं नि तर राजगद्धिमा बसेको राजालाई त परिवर्तन गर्न सकिँदैन नि ।’
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ ।