देशको नेतृत्व गर्नेहरू बिचौलीको खेलमा सहभागी छन् - शेखर कोइराला [भिडियो]
हुँदा हुँदा राष्ट्र बैङ्कको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको छ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
822
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरू बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् । आइतबार सांसद कोइरालाले नेतृत्व तह नै बिचौलियाहरूसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि बिचौलियाहरूबाट सचेत र सतर्क रहन जरुरी रहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसङ्ग निकाल्दै उनले बिचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।
उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन युनिभर्सिटीमा भिसीले रिजाइन गरे । किनभने मलाई धेरै प्रेसर पर्यो । मैले सकिनँ भनेर भने । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । बिचौलियाहरू । हाम्रा नेतृत्वहरू बिचौलियाहरूको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्न सके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’
सांसद कोइरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसद्को रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए । कांग्रेस-एमालेको सरकार बनेको ९ महिना बितिसक्दा समेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद भएको बताए ।
देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताए । उनले त्यहाँ पनि बिचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गरे । राष्ट्र बैङ्कको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने बताए । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने बताए । सुशासन दिन्छौँ भनेर सरकारले भनिरहे पनि औचित्य साबित हुन नसकेको बताए । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उनको भनाइ छ ।
सांसद कोइरालाले भने, ‘संविधानमा सुधार गर्ने भनेका छौँ । संविधान पुनर्लेखन त भनेका छैनौँ । त्यसलाई हेरिदिने । केके परिवर्तन गर्न सकिन्छ त्यतातिर जाने भनिएको थियो । आज नौ महिना बितिसक्यो हामीले त्यतातिर ध्यान दिन सकेका छैनौँ । के-केमा संशोधन गर्ने हो त्यो हामी हेरौँ, गरौँ । गर्नैपर्छ । किनभने यो त प्रधानमन्त्रीजीले रोष्ट्रममा उभिएर बोलेको कुरा हो । यो मैले त्यसै भनेको कुरा होइन । नेपाली कांग्रेस र एमालेको सहमतिको डकुमेन्ट हो यो । दोस्रो कुरा छ, आर्थिक अवस्था एकदम नाजुक छ देशको । त्यसलाई सुधार गर्दै अघि लैजाने । सुधार गर्ने प्रक्रियाहरू अघि बढे भनेर अध्यादेशमार्फत ऐन पनि आयो । हुन्छ की भन्ने आशा छ । कत्तिको हुन्छ हेरौँ । कि त्यहाँ पनि फेरि बिचौलियाहरूकै खेल छ की ? र अहिले तपाईँहरूले हामी सबैले सुन्दै छौँ एउटा कुरा । हुँदा हुँदा राष्ट्र बैङ्कको गभर्नर बनाउन पनि बिचौलियाहरू चलखेल गर्दै छन् भन्ने कुरा आइरहेको छ । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरू कसैलाई पनि छैन । त्यसपछि उहाँहरूले के भन्नुभयो हामी सुशासन दिन्छौँ, भ्रष्टाचार न्यूनीकरण गर्छौँ भन्नुभयो । सुशासन कस्तो अवस्थामा छ, मैले भनिरहनु पर्दैन । औचित्य हामीले साबित गर्न सकिरहेका छैनौँ । उपायहरू छ । त्यसको लागि राजनीतिक इच्छाशक्ति नेताहरूमा, नेतृत्वमा हुनुपर्छ । राजनीतिक इच्छाशक्ति भयो भने गर्न सकिन्छ, हामी सक्छौँ । के नेपाललाई बनाउन सकिँदैन, नेपाललाई बनाउन सकिन्छ । अहिले युवाहरु पलायन भइरहेका छन् ।’