तीनकुने घटनाबारे सोधपुछ गर्न पूर्वराजालाई समितिमा बोलाउन प्रस्ताव [भिडियो]
यो मानव अधिकार उल्लङ्घनको घटना हो कि होइन ? तपाईँले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ ?
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
964
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे सोधपुछ गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन प्रस्ताव गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले यस्तो प्रस्ताव राखेका हुन्।
पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्नता भए/नभएकोबारे सोध्नुपर्ने उनको भनाइ छ । उनले गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा नागरिकले गरेको स्वागतसमेत आवश्यक नरहेको उनको टिप्पणी छ । उनले तीनकुने घटनाबारे पूर्वराजा शाहलाई ‘तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ?’ भन्दै प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, ‘कानून, न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार उल्लङ्घनका विषयमा छलफल गरिरहेका छौँ भने अहिले आम नागरिकको रूपमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई गत फागुन २५ गते पोखराबाट फर्किने क्रममा जुन स्वागत गरे जनताले त्यो आवश्यक थियो कि थिएन ? र १५ गतेको घटनामा उन संलग्न हुनुहुन्छ कि हुनुहुन्न ? भन्नेबारेमा विभिन्न विचारहरू आउन थालेका छन् । सभापतिज्यू यो विषयमा कुरा गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऊँ । यो समितिमा बोलाएर हामीले सोधौँ । यो मानव अधिकार उल्लङ्घनको घटना हो कि होइन ? तपाईँले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनुहुन्छ ? यसका बारेमा छलफल गर्न आवश्यक छ ।’