काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् । आइतबार नेपाल मुस्लिम सङ्घको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताए ।
उनले भने, ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर लाने संविधान छ । यसले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ । तर गाह्रो भए तापनि सबैलाई मिलाउन सक्ने यो संविधान छ । नेपालको संविधान पूर्णरुपमा समानुपातिक र समावेशी आधारमा छ । यसमा जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिला सबैको यसमा समावेशिता छ । त्यसैले अहिलेको संविधानले अत्यन्तै ठूलो र महत्त्वपूर्ण भूमिका खेलेको छ । हाम्रो पार्टीभित्र पनि सबैलाई समानुपातिक, समावेशी किसिमको हाम्रो विधान छ । त्यसकै आधारमा अहिले मुस्लिम समुदायबाट पनि नेताहरू हुनुहुन्छ ।’