काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरीको टिम फेरिएको छ । सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेत सहितको टिमलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको सशस्त्र स्रोतले बताएको छ ।
देउवालाई दुई दर्जन सशस्त्रको टोलीले सुरक्षा दिँदै आएको छ । उक्त टोलीलाई एकाएक परिवर्तन गरेर नयाँ टोली पठाइएको हो ।
बूढानीलकण्ठबाट एकाएक सशस्त्रको टोलीलाई परिवर्तन गर्नुका पछाडि धेरै कुरा हुन सक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार पछिल्लो समय सरकार परिवर्तनको हल्ला भइरहँदा नेताहरुको आवतजावत बाक्लिरहेको सन्दर्भमा सूचना चुहिएको आधारमा कारबाही गरिएको हुन सक्ने बुझिएको छ ।
यसअघि यस्तो हुँदा नेतृत्व फेरिनेमा यसपालि भने टिम नै फेरिएको हो । त्यस्तै पहिले समय पुग्दा अवधि सकिएको व्यक्तिमात्र फेरिने चलन थियो । तर यसपालि भने सिंगो टिम नै फेरिँदा शंका आशंका उब्जिएको छ ।