arrow

भिजिट भिसा प्रकरण: राष्ट्रिय सभामा पनि गृहमन्त्रीको राजीनामा माग [भिडियो]

भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा निष्पक्ष छानबिन गर्न समेत सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
gopi-bd-achami-.jpg

काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीले गृहमन्त्री लेखक अध्यागमन विभागको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिन माग गरे। उनले अध्यागमन कार्यालयका प्रमुखले नै गृह मन्त्रालयलाई लाखौं रुपैयाँ बुझाउनुपर्ने बयान दिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिए। अछामीले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनामा निष्पक्ष छानबिन गर्न समेत सरकारको ध्यानाकर्षण गराए।

सांसद अछामीले गृहमन्त्रीको राजीनामा माग गर्दै भने, “बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्नको लागि भिजिबिलिटी कम छ भन्नुभयो। अध्यागमन विभागमा भिजिबिलिटी राम्रो रहेछ भन्ने सन्देश गएको मैले अनुभव गरेको छु। यस्ता खालका मानवता विरोधी र भ्रष्टाचारजन्य जे जति गतिविधि भइराखेका छन्, त्यो गतिविधिमाथि छानबिन गरिनुपर्छ। यसको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्छ। उहाँ आफैँले पनि सत्तामा बस्नेहरूले नैतिकताको प्रश्न उठ्ने बित्तिकै राजीनामा दिनुपर्छ भन्ने उहाँ आफैँले सिकाएको पाठ पनि भएको कारणले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग राख्न चाहन्छु।”

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा सेटिङको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित चार जनालाई नियन्त्रणमा लिएर उनीहरूका डिभाइस अनुसन्धानका लागि पठाएको छ। प्रतिनिधि सभाको बैठकमा पनि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध कायमै राखेका छन्। सांसद अछामीले गृहमन्त्रीले राजीनामा नदिएमा राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ