arrow

दर्जनौँ काम नलाग्ने कानून खारेज गर्नुपर्छ - गगन थापा [भिडियो]

पछिल्लो समय रोकिएका आर्थिक सुधारका कामहरूलाई अगाडि बढाउनुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
gagn-thaps.jpg

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा रहेका दर्जनौँ काम नलाग्ने कानूनहरू खारेज गर्न आवश्यक रहेको बताएका छन्। उनले ९० को दशकमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँगै हुँदा गरिएका तर पछिल्लो समय रोकिएका आर्थिक सुधारका कामहरूलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।

उनले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिए। महामन्त्री थापाले कानूनमा सुधार गर्ने कुराहरू अगाडि बढाइसकेको र दोस्रो चरणको काम केही दिनमा सुरु गर्ने बताए। उनले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठीक ठाउँमा लानुपर्नेमा जोड दिए।

थापाले भने, "नेपाली काँग्रेस र नेकपा (एमाले) सँगै भएको बेलामा ९० को दशकमा गरिएका आर्थिक सुधारहरू, जुन पछिल्लो समय रोकिएर गएको छ, ती सुधारका सन्दर्भमा हामीले व्यापक रूपमा काम गर्नुपर्नेछ। अस्ति मात्रै सम्माननीय प्रधानमन्त्री र सभापतिसँग बसेर छलफल गरेका छौँ। हामीले कानूनमा सुधार गर्ने कुराहरू अगाडि बढायौँ, अब हामी दोस्रो चरणको काम केही दिनमा सुरु गर्छौँ। हामीले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न चाहन्छौँ। नियम, कार्यविधिका नाममा जुन शासन चलाइएको छ, हामीले दर्जनौँ खारेज गर्नुपर्नेछ। कैयौँ नयाँ कुराहरू बनाउनुपर्नेछ। बनाइसकेपछि यो संरचनालाई हामीले ठीक ठाउँमा लिएर जानुपर्नेछ।"

उनले कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा त्यसको लाभ आम नागरिकले पाउनुपर्ने र तब मात्रै यसको अर्थ हुने जिकिर गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ