उपप्रधानमन्त्री सिंहको प्रश्न: पटक-पटक परीक्षणमा पास भएकामाथि त प्रश्न छ, नयाँ दलले के गर्न सक्छन् ? [भिडियो]
नयाँ राजनीतिक दलहरूले देशमा केही गर्न सक्दैनन्
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
564
Shares
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले देशमा केही पनि गर्न नसक्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उपप्रधानमन्त्री सिंहले विभिन्न चरणका परीक्षणहरूमा सफल भएर आएका पुराना राजनीतिक दलहरूलाई समेत जनताले अहिले प्रश्न गरिरहेको भन्दै, परीक्षण नै नभएका नयाँ राजनीतिक दलहरूले केही गर्न नसक्ने बताए। उनले नेपाली काँग्रेस जनताबाट पटक-पटक परीक्षण भएर आएको पार्टी रहेको उल्लेख गरे।
उनले प्रश्न गरे, "उनीहरूले भनेको मात्रै कुरा मान्दै जाने हो भने देश कहाँ पुग्छ?" सिंहका अनुसार, जनताको अधिकारका लागि लडेका पार्टीलाई नजरअन्दाज गरेर केही नगरेकाहरूबाट केही हुन्छ भनेर आशा गरेर पछि लाग्नु तर्कसङ्गत छैन।
सिंहले नेपाली काँग्रेस पार्टी, यसका भ्रातृ सङ्गठन र शुभेच्छुक सङ्घसंस्थाहरू बलियो भएको खण्डमा मात्रै देशमा सन्तोषको सास फेर्न सकिने बताए। उनले भने, "२००३ सालमा स्थापना भएको नेपाली काँग्रेस पार्टी यत्रो परिवर्तन ल्याउन सफल भयो। अहिले पनि जनताले प्रश्न गर्दछ, नेपाली काँग्रेस पार्टीले गर्नुपर्ने काम गरेन भनेर भन्छ भने भर्खर जन्मिएका पार्टीले के गर्छ? टेस्ट नै केही भएको छैन।"
उनले आफूहरू पटक-पटक जनताको माझमा गएर परीक्षणमा पास भएर आएको बताउँदै, परीक्षामा केही नभएका दलहरूको पछि लागेर देश अघि बढ्न नसक्ने जिकिर गरे।