पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अन्य सोच नरहेको
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
603
Shares
चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानमा रहेको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै पनि राजनीतिक दललाई एकल बहुमत ल्याउन कठिन हुने धारणा व्यक्त गरेका छन्।
नेपाली काँग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै देउवाले भने, "अहिलेको संविधान राम्रो, समावेशी र समानुपापातिक छ। सबै जातिहरूको प्रतिनिधित्व भएको छ संविधानमा। तर कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ।"
उनले काँग्रेसभित्रको 'रोग' लाई पनि औंल्याए, जहाँ निर्वाचनमा टिकट नपाउनेले आफ्नै नेतालाई हराइदिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए। "टिकट त एकजनाले मात्रै पाउँछ नि। नपाउनेले निर्वाचनमा हराइहाल्छ। त्यसकारण पार्टीभित्रको यो रोग पनि हटाउन आवश्यक रहेको छ," उनले भने।
देउवाले आफू काँग्रेसकै कारण प्रधानमन्त्री र सभापति हुन पाएको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउनुबाहेक आफूमा कुनै अन्य सोच नरहेको स्पष्ट पारे। उनले संविधान समावेशी र समानुपातिक भएकाले कुनै न कुनै पार्टीसँग मिलनैपर्ने आवश्यकता रहेको दोहोर्याए।
संविधानको रक्षा गर्दै एकल बहुमत ल्याउनसक्ने गरी सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो।