ओली नभएको बेला मन्त्रालयको नाम बदल्न सांसद मिश्रको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
2.4k
Shares
काठमाडौँ नेपाली काग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी 'ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय' राख्न सुझाव दिएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्।
सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह हाल कार्यवाहक प्रधानमन्त्री रहेकाले यही बेलामा मन्त्रिपरिषद् बैठक बोलाई मन्त्रालयको नाम परिवर्तन गर्न उपयुक्त हुने बताएका छन्। उनले नाम परिवर्तनले मन्त्रालयको कामलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
"म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न। काम र नाम मिलेन कि। तसर्थ ग्रामिण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ। अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीज्यू अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ। आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि भन्ने मलाई लागेको थियो," मिश्रले भने।
सांसद मिश्रले राजस्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्ने र वनलाई नोक्सान पुर्याइरहेका रुखहरू कटान गरी सदुपयोग गर्नुपर्ने बताए। साथै, उनले काठमाडौंका नदीनाला र खोलाहरूलाई स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको पनि औँल्याए।