विपद् प्रतिकार्यका लागि सरकार तयार: उपत्यकामा निजी हेलिकप्टरद्वारा निःशुल्क उद्धारको सम्झौता
गृहमन्त्री लेखकद्वारा विपद् प्रतिकार्यमा सरकार तयारी अवस्थामा रहेको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
607
Shares
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद्बाट हुने क्षति रोक्न र विपद्पछि नागरिक तथा सम्पत्तिको सुरक्षाका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताए। मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने विगतका अनुभवले देखाएको भन्दै उनले क्षतिबाट नागरिक र सम्पत्तिको सुरक्षाका लागि सरकार तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिए।
"आज जुन एमओयु गरिएको छ, यसले महत्वपूर्ण काम भएको छ," गृहमन्त्री लेखकले भने, "काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको सेवा गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्नेकुरा गर्नुभएको छ, यो अत्यन्त महत्वपूर्ण काम भएको छ। तपाईंहरूले ठूलो सार्वजनिक दायित्व निर्वाह गर्ने काम गर्नुभएको छ।"
सरकार र वायुसेवा सञ्चालक संघबीच भएको सम्झौताअनुसार, काठमाडौं उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार गरिनेछ। तर, उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरूले आवश्यक परेको खण्डमा अपरेशन कस्ट (सञ्चालन खर्च) लिएर उद्धार गर्ने समझदारी भएको छ। खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने पनि गृहमन्त्रीले बताए।