काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि लगाएको "गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित" आरोपलाई फोहरको संज्ञा दिएका छन् । थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भने, 'फोहर चलाएर फोहरी बन्न चाहन्न ।'
टेरामक्स प्रकरणमा मुछिँदै आएर धरौटीमा छुटेका बस्नेतले पार्टीको सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई “राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने” भन्दै जवाफ फर्काएका हुन् ।
उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, "बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ जवाफ। आमाले भन्नुहुन्थ्यो, फोहर नचलाउनु — फोहर चलाए आफैँ फोहरी भइन्छ। आज म आमाको कुरा सुन्छु ।"
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्तिको आलोचना गरे । उनले भने, "म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो ।"