थारु समुदायको प्रिय ’फुटकी च्याउ’ लोपोन्मुख, सम्झनामै सीमित हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
680
Shares
कञ्चनपुर। वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायको भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउ (स्थानीय भाषामा ‘पटपुरा’) अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइने भए पनि अहिले भने पाउनै मुस्किल भइसकेको स्थानीयले बताएका छन्।
स्थानीय हवलदार चौधरीका अनुसार, पहिले वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल एकैचोटि धेरै फुटकी सङ्कलन गर्न वनतिर लाग्थे, तर अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ। वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उनको भनाइ छ। सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन्।
थारु समुदायले फुटकीलाई अनेकौँ परिकारमा प्रयोग गर्छन्, जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा आदि पर्छन्। गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन्। थारु समुदायमा कुन च्याउ खान योग्य छ भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ, जसले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको छ।
बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु ४०० देखि रु १,३०० सम्म पुगेको बन्धुराम चौधरीले बताएका छन्। थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो। बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ र पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ।
थारु समुदायमा ‘जलेवा’ (सेतो रङ्गको) र ‘भोटैल’ (कालो वा खैरो) गरी दुई प्रकारका फुटकी चिनिन्छन्। बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ।
थारु अगुवा रेवन चौधरीले फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रूपमा रहेको बताएका छन्, जुन अहिले लोपोन्मुख अवस्थामा छ र यसको संरक्षण आवश्यक छ।