सिरहामा २१२ किलो गाँजासहित एक युवक पक्राउ, अन्य फरार
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
573
Shares
सिरहा। सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट २ क्विन्टलभन्दा बढी (२१२ किलो ९२५ ग्राम) अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन्।
शुक्रबार राति विशेष सूचनाका आधारमा मलाहलाई प्र२–०१–००३प २१५४ नम्बरको मोटरसाइकलमा गाँजा बोक्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। प्रहरीलाई देख्नासाथ घटनास्थलबाट गाडीसहित अन्य केही व्यक्ति भने फरार हुन सफल भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीबाट खटिएको संयुक्त टोलीले सातवटा पोकामा राखिएको उक्त ठूलो परिमाणको गाँजा बरामद गरेको हो। फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।