arrow

देशका विभिन्न स्थानमा भारी वर्षा मापन : पूर्वी नेपालमा बढी प्रभाव, मध्य र पश्चिममा सर्दै

कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
rain-ktm-banasthali.jpg

काठमाडौँ। पछिल्लो १२ घण्टामा देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी नेपालमा बढी वर्षा भएको र अब यो प्रणाली मध्य तथा पश्चिम क्षेत्रमा सर्दै गएको छ।

विभागका अनुसार, पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा १५१ मिलीमिटर मापन भएको छ। यस्तै, धनकुटामा १२१ मिलीमिटर, सुनसरीमा १३० मिलीमिटर र इलामको माइपोखरीमा १२१ मिलीमिटर वर्षा भएको छ, यी चार स्थानमा अति भारी वर्षा मापन भएको विभागले जनाएको छ।

यीबाहेक, सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापा लगायतका जिल्लाहरूमा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ। अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा रेकर्ड गरिएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेकोले नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो। उनले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको र यो अवस्था भोलिसम्म रहने, त्यसपछि विस्तारै हट्दै जाने बताएका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार, पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

यसैगरी, आज बिहान इलामको कन्काई मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो। सुनसरीको सार्दुल खोलामा पनि जलसतहले सतर्कता तह पार गरेको थियो। सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १:२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ