arrow

नेपालका कम्युनिष्टहरू लोकतान्त्रिक सिद्धान्तमा ढालिएका छन् - देउवा [भिडियो]

एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
deuba-04-0901.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्ट पार्टीहरूले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार, अहिलेको संविधान सबैका लागि स्वीकार्य भएको छ र आवश्यकताअनुसार यसमा संशोधन हुनुपर्छ। राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्नेजस्ता विषयमा छलफल भइरहेको देउवाले बताए। उनले नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारतः सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टी (लोकतान्त्रिक समाजवादी पार्टी) को रूपमा काम गरिरहेको टिप्पणी गरे।

सभापति देउवाले भने, "आज संविधान सबैका लागि स्वीकार्य भएको छ। केही कुराहरू संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन्। स्वभाविक कुरा हो। आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै। कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ। त्यो हाम्रो पनि कुरा हो।"

उनले थपे, "नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरू डेमोक्रेटिक सोसलिस्ट पार्टीको रूपमा काम गरिरहेका छन्। काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरूलाई तर विस्तारै विस्तारै ढालिसकेका छन्। कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन्। त्यसैले नेपाल सानो देश भएपनि सबै पार्टीहरूको देश भएको छ।"

देउवाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तर (ग्रासरुट) मा बलियो भइनसकेको स्वीकार गरे। उनले अहिलेको संविधान अत्यन्तै राम्रो र समावेशी भएपनि कुनै पनि पार्टीको बहुमत आउन गाह्रो रहेको बताए। "बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ। एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ