बागमतीमा कांग्रेसभित्र विद्रोह: चार मन्त्रीको राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता [भिडियो]
मन्त्रीहरूले आफ्नो राजीनामा ह्वाट्सएपमार्फत बुझाए मुख्यमन्त्री लामालाई
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
853
Shares
काठमाडौँ । । बागमती प्रदेश सरकारभित्र ठूलो राजनीतिक हलचल शुरु भएको छ। नेपाली कांग्रेसका चारजना मन्त्रीले एकैसाथ राजीनामा दिँदै आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध विद्रोह शुरु गरेका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने छन्। यी मन्त्रीहरूले आफ्नो राजीनामा ह्वाट्सएपमार्फत मुख्यमन्त्री लामालाई बुझाएको बताइएको छ। यो कदम मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटाउने योजनाअन्तर्गत चालिएको बुझिएको छ।
कांग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्। बाँकी केही सांसद पनि नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइए पनि, हालसम्म औपचारिक समर्थन सार्वजनिक भएको छैन।
प्रदेश सभापति तथा वरिष्ठ नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दौडमा देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले लामालाई स्पष्ट रूपमा राजीनामा दिन भनेपछि बानियाँ पक्ष थप सक्रिय भएको हो। तर लामा भने अझै पद नछोड्ने अडानमै छन्।
यो सबै राजनीतिक हलचलको जरो भने बजेट विवाद हो। आर्थिक वर्ष २०८२—८३ को बजेटमा कांग्रेसभित्रै गम्भीर असहमति चुलिँदा सत्ता संकटको रूप लिएको छ। २०७९ पुस १३ मा भएको संसदीय दलको चुनावमा लामा ५ मतले बानियाँलाई हराएर नेता बनेका थिए। अहिले त्यही बानियाँ मुख्यमन्त्री परिवर्तनको मुहान बन्न लागेका छन्। कांग्रेसभित्रको यो शक्ति संघर्षले बागमती प्रदेशमा सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। अबको खेल लामाको राजीनामा वा विश्वासको मत गुम्ने स्पष्ट देखिन्छ।