arrow

चार पालिकामा आइतबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका चारवटा पालिकाले रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा आइतबार (श्रावण ११ गते) सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, र बेलडाडी गाउँपालिकाले यो बिदा दिने भएका हुन्।

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले आफ्नो पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको बताए। उनले रानाथारुको प्रमुख पर्व तीजको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिँदै पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययिता अपनाउन आग्रह गरे।

लालझाडी गाउँपालिकाले श्रावण ११ गते रानाथारु समुदायका महिलाको तीज पर्व र श्रावण १३ गते थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले यो जानकारी दिए। बेलौरी र पुनर्वास नगरपालिकाले भने श्रावण ११ गते मात्र सार्वजनिक बिदा दिएका छन्।

रानाथारु समुदायका महिलाहरूले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउँछन्। रानाथारु समुदायका जानकारहरूका अनुसार, तीज आउनुअगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ, जसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्छन्।

रानाथारु समुदायका अगुवा प्रेमवती रानाले अन्य समुदायले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्ने भए पनि आफ्नो समुदायमा दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गरेको बताएकी छन्। उनका अनुसार, रानाथारु समुदायका दिदीबहिनीले माइतीमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन् र माइतीघरमा नै व्रत बसेर तीज मनाउने प्रचलन छ।

तीज रानाथारु समुदायको महान् पर्व हो। हिन्दू धर्मावलम्बीहरूले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन भए पनि रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन मनाउँछन्। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको प्रेमवती रानाले जानकारी दिइन्।

स्थानीय चेतराम रानाका अनुसार, यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाइन्छ। तीज आउनुपूर्व नै मनोरञ्जनका रूपमा ‘सावनको डोला’ (पिङ) खेल्ने प्रचलन छ। यस पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन्। तीजमा महिलाहरू दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै व्रत बस्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ