arrow

गाईजात्रा विशेष

नेपाली राजनीतिमा कामरेडहरूको नाटक

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८२ साउन २५ आइतबार
badri-ojha-82-4-25-f.jpg

नाटक शीर्षकः “छायाँहरूको अन्तर्कथा“
राजनीतिक व्यङ्ग्य (गाईजात्रा विशेष), पात्रहरू (प्रतीकात्मक)
मुखिया  – वर्तमान शक्तिशाली पात्र, निर्णायक भूमिका

मुन्सि – शक्तिको शिखरबाट फर्किंदै गरेकी पात्र, इतिहासको गर्भ बोकेकी

घडी – समयको साक्षी, व्यङ्ग्यकार र कथा प्रवाहकर्ता

छायाँ – ऐतिहासिक पृष्ठभूमिमा हराएको तर सतत प्रभाव राख्ने पात्र

मञ्चनवाचक – दर्शकसँग प्रत्यक्ष संवाद गर्ने, विवेचक भूमिका

दृश्य १ः संरक्षणको सौन्दर्य
सेटः
मञ्चको बायाँ भागमा कालो सिंहासन, जसको माथि “संविधान“ लेखिएको झलमल गर्ने बोर्ड । दायाँमा एक सादा कुर्सी, पछाडि “नारी शक्ति“ र “संविधानको रक्षक“ लेखिएको ढाल ।

प्रकाशः
बायाँ (मूखिया) मा रातो प्रकाश, संकेतः शक्ति, जोश, नियन्त्रण।

दायाँ (मुन्सी) मा हल्का निलो प्रकाश, संकेतः शान्त तर गम्भीर मुद्रा ।

संवादः
मञ्चन वाचकः
दुई आत्माहरू, एउटै विचारको गर्भबाट निस्केका ।
एउटाले चढायो पदको सिँढी,
अर्काले समायो संविधानको छाता ।
तिनले एकअर्काको राजनीति सिँगारिदिए,
तर जब शक्ति एउटै दिशामा दौडियो,
सन्धिहरू सन्ध्यान्तर बन्न थाले ।

मुखिया (गर्वका साथ)
त्यो निर्णय मेरो थियो,
तर कार्यान्वयन... त्यो तपाईंको ‘सम्मान’ थियो ।

मुन्सी (मुस्काउँदै)
सम्मानका नाममा म मौन रहेँ ।
तर जब जनताको स्वर रेटियो,
मैले हस्ताक्षर गरेँ—किनभने त्यसमा तपाईंको चाहना झल्कियो । 

छायाँ (मञ्चको पछाडिबाट आवाज)
चाहना कहाँ झल्कियो, कसरी झल्कियो —त्यो त ‘जनवाद’को प्रश्न हो। त्यो तत्कालीन आवश्यकता हो । 

तर यहाँ प्रश्न गर्नेको आवाज कहिल्यै सुनिँदैन । कहिल्यै उत्तर दिइँदैन । 

 दृश्य २ः शिखरबाट शिखण्डीसम्म
सेटः
मञ्चको बीचमा ठूलो ऐना राखिएको छ—दुवै पात्र त्यसमा आफूलाई हेर्छन् ।

पछाडि अखबारका टुक्रा झुन्डिएका छन् – ‘आत्मिय सम्बन्ध ?’, ‘निर्देशक वा कठपुतली ?’

प्रकाशः 
मञ्चमा धुमिल प्रकाश, संकेतः सम्बन्धको अनिश्चितता ।

ऐनामा स्पट–लाइट – आत्मदर्शन ।

संवादः
मुन्सी (गम्भीर स्वरमा)
पहिले मलाई ‘संरक्षक’ भनियो,
अब मलाई ‘शिखण्डी’ भनिएको छ ।
तपाईंको पदको रक्षा गर्दा, मैले आफ्नो इतिहास गुमाएँ ।

मुखिया (घुमाउरो शैलीमा)
तपाईं शिखण्डी हुनुहुन्न ।
शिखण्डी त केवल परिस्थितिको उत्पादन हो ।
हामीले त्यही परिस्थिति निर्माण गर्यौँ ।
आउँनुहोस् हाम्रा पछि लाग्नेहरूलाई चिनौँ । 

घडी (व्यङ्ग्यपूर्ण)
शिखण्डी मात्र हैन, अहिले त पात्रहरू पनि ’मौका अनुसारको नायक’ बन्न थाले !

छायाँ (कर्कश हाँसोसहित)ः
कसैले मलाई विस्मरण गर्यो भनेर होइन,
म बाँचिरहेछु—तिनैको अन्तरविरोधमा ।

दृश्य ३ः “पुनरागमनको संकेत“
सेटः
मंचको पछाडि निर्वाचन आयोगको ढोका बनाइएको छ ।

मुन्सीको पछाडि एक झलमल बलेको बत्ती – ‘फर्किन सकिन्छ?’ भन्ने लेख ।

प्रकाशः
मुन्सीको शरीरलाई  सुन्तला रंगको प्रकाश दिइन्छ । 
 संकेतः राजनीतिक पुनरागमन ।

मुखियाको शरीरमा हरियो र पहेँलो मिसाइएको प्रकाश दिइन्छ । 
संकेत ः खतरा र अस्थिरता ।

संवादः
मुन्सी  (निश्चयपूर्ण स्वरमा)
अहिले म फर्किरहेकी छु—अहिले आफ्नै नाममा ।

म राजनीति गर्न चाहन्नथेँ ।

तर राजनीतिले मलाई पछ्याउन छोडेन ।
 
त्यसैले अब म मौन बसिरहन सक्दिन । 

मुखिया (मनमनै)
मैले उनलाई पठाएको थिएँ...कहिल्यै नफर्किने गरी 
अब उनी फर्किइन भने,
यो सिंहासनमाथि त पर्दा झर्छ ।

घडीः
यो देशको राजनीति ’सम्बन्ध’ होइन, ’सन्तुलन’ हो ।
जहाँ प्रेम पनि रणनीति हो,
र मौनतासमेत षड्यन्त्र!

मञ्चनवाचक (अन्त्यमा)
कुनै नाम छैन, कुनै पद छैन ।
छ केवल एक कथा—
जहाँ इतिहास बिर्सन्छ,
तर छायाँ सधैं बोलिरहन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ