काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पनि हुन्। पाँचथरको फालेलुङ गाउँपालिका-३ का स्थायी बासिन्दा राईले मोफसल र काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका छन्।
उनी तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजक पनि थिए। पत्रपत्रिका, रेडियो र अनलाइनजस्ता सञ्चारमाध्यममा काम गरेको अनुभव उनीसँग छ।