गोकर्णप्रसाद भण्डारी, दोलखा । दोलखाको लादुक गाबिस बडा नम्बर ६ घर भएकी चरिमाई तामाङ उमेरले ७२ बर्ष भईन् । उनको जिन्दगी बेदना नै बेदनाको स्वरले भरिएका छन् । भुकम्प पीडित चरिमाईले वैशाख २९ गतेको भुकम्पमा आफ्ना श्रीमान त गुमाईन् नै श्रीमान्सँगै आफ्नो सम्पुर्ण जायजेथा पनि गुमाउनु प¥यो । अब उनको घरमा २ जना नातिनी र आफुबाहेक कोही र केहि छैन ।
चरिमाईसँग आफ्नी छोरीका २ बर्षिय सजिना तामाङ र ३ बर्षिय लालमाई तामाङ छन् । यी नै नाबालिकाहरुको पालनपोषण र भबिष्यको चिन्ताले पिरोलिइ रहेको छ चरिमाईलाई । उनको छोरीको श्रीमान् पनि भुकम्प भन्दा पहिला नै बिते पछि नातिनी छोडेर छोरी बेपत्ता भईन् ।
चरिमाई भन्छिन्, “एउटा कटेरो समेत छैन म बुढीको, त्रिपालको गोठमा बास छ, खानेकुराको त कुरै नगरुँ बाबु दैबले हामी गरिबलाई पिरोल्नु पिरल्यो । त्रिपालको चिसोले नातिनीहरु दिन–दिनै बिरामी पर्छन ,म बुढि घिसारीदै स्वास्थ्य चौकी र धामीझाक्री कहाँ पु¥याउछु, अहिल्यै मर्ने हुन् की भरे चिन्ताले सताउँछ ,आफ्नै मर्ने दिन आयो हजुर यी नातिनी कसले पाल्ने । ”
यी नै बिलौना र बेदनाको स्वरले छट्पट्टी रहेकी छन् चरिमाई तामाङ । उनको एउटा आस छ मलाई सके त घर नभए पनि यी नातिनीहरु पढाई दिने कोहि भए हुन्थ्यो । म बुढीको त मर्ने दिन आयो तर यी कलीला नातिनी धेरै बाँच्दिए हुन्थ्यो । उनी भन्छिन् ,कर्मको फल यस्तै रहेछ भोगिरहेछु ,अहिले त जसो तसो मागेर नै भएनी नातिनीहरु पालेकी छु ,म बुढि मरेपछि यीनीहरु साना नातिनीको पालन पोषण कसले गरिदेला ।
अहिले चरिमाईलाई बिश्व खाद्य कार्यक्रमको सहयोगमा डिप्रोष नेपालले १५० किलो चामल र २७ किलो दाल उपलब्ध त गरायो, केहि समयलाई खान त पुग्छ,यो सिद्धिएपछि के खाने । गाउँलेहरु सँग मागेरै भएपनि लुगाफाटो लगाई रहेका छौ । चरिमाईको कुनै आम्दानीको स्रोत त छैन नै उनको काम गरेर खान सक्ने क्षमतासमेत छैन । उनी भन्छिन् गाउँमा संघ संस्थाले राहत बाँड्छन् लिन जान सक्दिन आफु बुढी भँए, नातिनीहरु बच्चै छन् । यिनैलाई हेर्ने की खानको जोहो गर्ने बिचल्नीमा प¥यो हामी हजुरआमा र २ नातिनीहरुको जिन्दगी ।