सेनाको समन्वयमा राष्ट्रपतिले जेन-जीसँग निर्णायक वार्ता गर्दै, सरकारको नेतृत्वमा सुशीला कार्की
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन-जीहरूले गरेको आन्दोलन सफल भएसँगै अन्तरिम सरकारको नेतृत्वका लागि छलफल हुँदैछ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको हो ।
यसअघि जेन-जीका प्रतिनिधिहरुले बुधबार अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ ।
यसअघि प्रधान सेनापति अशोकराज सिग्देलले बुधबार दिनभर गरेको वार्ताको प्रयास भने विफल भएको थियो । सेनाले बुधबार बेलुकी माइकिङ गर्दै जेन-जीलाई आफ्नो नेतासहित उपस्थित हुन आग्रह गरेको थियो ।
बुधबार दिउँसो प्रधान सेनापतिले दुर्गा प्रसाईं र रास्वपा पनि स्टेक होल्डर भएको बताएपछि जेन-जी अभियन्ताले वार्ता नगरी बाहिरिएकी थिइन् ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार र विरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सोमबार नै १९ जनाको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
बिहीबार बिहानसम्म ३० जनाको मृत्यु भइसकेको छ । हजार जना भन्दा बढी घाइते भएका छन् ।
तिनै युवाहरूको बलिदानलाई सही सावित गर्न युवाहरूको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।
यता संसद भने विघटन गर्न नहुने माग बढिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् विघटन गर्न नहुने बताएकी छिन् । एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेन-जीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम भने सैह्य नहुने बताएकी हुन् ।
उनले सन्देशमा भनेकी छिन्, ‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो ।’ जेन-जीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने उनको अडान थियो ।
भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनको अवस्थासमेत बाहिर ल्याइएको छैन । यता जेन-जीसहितको स्वार्थप्रेरित समूहले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, मन्त्रालयहरू, सरकारी कार्यालयहरू सबै जलाएका छन् ।
यो उद्दण्डको जिम्मेवारी काँधमा लिएर जेन-जी अगाडि बढ्नु पर्नेछ ।
यता नेपाली सेनाले जेन-जीहरूलाई संवादमा आउन आह्वान गरेको छ । तर सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलसमेत पछि परेका छन् ।
सम्भवतः आज पौडेलसँग जेन-जीहरूले वार्ता गर्नेछन् । यद्यपि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिएको सूचनासमेत सार्वजनिक भएको छ ।
त्यस्तै जेन-जीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनाउने गरी प्रस्ताव अघि सारेको भए पनि यो विषयलाई लम्बाउन खोजिएकोसमेत पाइएको छ ।
कार्कीलेसमेत आफू नेतृत्व लिन तयार रहेको बताएकी छिन् । त्यसका लागि पहिले विघटन गर्नसमेत खोजिएको छ ।
यी घटनाहरुबीच सांसद गौतमले कुनै पनि हालतमा संसद विघटन गर्न नहुने बताएकी हुन् ।
सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नैपर्ने देखेर आफ्ना कुरा राखेको पनि उनले बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर संसदलाई कायम चाहिँ राख्नुपर्छ । ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेन-जीहरू जसरी सक्रिय हुनुभएको छ । चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ । म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सही मान्छे जनताले निर्वाचित गरे भने कानून बनाएर कानूनको दायरामा ल्याएर तिनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ । बस् नेपाली जनताले सही मान्छे निर्वाचित गरेर पठाउनु पर्यो । यो जनताको सर्वोच्चता कायम हुन्जेलसम्म मात्रै सम्भव छ ।’
प्रधान सेनापति सिग्देलले दुर्गा प्रसाईं र रास्वपा पनि स्टेक होल्डर भएकाले सँगसँगै कुरा गर्नुपर्ने भनी जेन्जी अभियन्तालाई भनेसँगै वार्ताको माहोल बिगार्न खोजिएको त हैन भन्ने प्रश्न उब्जिएको छ ।