रामपुर । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ ।
दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ ।
हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् ।
दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताए ।
गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी सङ्ख्यामा न्यून आएको हो ।
गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताए ।
“१० बजे विद्यालय पुग्यो, विद्यार्थी पढ्न आउँलान् भनेको गाग्री बोकेर पानी खोज्न जान्छन्”– “पानीको जोहो नगर भनौँ त गाउँभरि नै हाहाकार छ, अर्कोतिर विद्यार्थीको भविष्य अन्धकारमय बन्यो, न्यून विद्यार्थी सङ्ख्या भएको कक्षाकोठामा बसेर पढाउनुको सट्टा समय बिताउन पनि गाह्रो भएपछि जागिर नै छाडिदिएको हुँ” उनले भने ।
विद्यालय स्थापना भएको २७ वर्ष बिते पनि शैक्षिक गुणस्तर वृद्धि र भौतिक सेवा सुविधामा विद्यालयले कुनै फड्को मार्न नसकेको स्थानीय सूर्यप्रसाद रेग्मीले बताए ।
पानीको अभावले बस्ती नै पातलिँदै गएपछि यहाँको शैक्षिक गुणस्तर विकास हुन नसकेको स्थानीय बताउँछन् ।
पानीको चरम अभाव अर्कोतिर विद्यालयको स्तरोन्नति हुन नसक्नु, बिजुली, सडकको समस्याले पनि विद्यार्थी सङ्ख्या पातलिँदै गएको हो । रासस