कांग्रेस एकजुट भएर केन्द्रीय समितिबाटै समाधान खोज्नुपर्छ: प्रवक्ता महत [भिडियो]
देउवा नियोजित कुरा देख्दासमेत घर नछोडेको व्यक्ति भएकाले ‘देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको’
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
933
Shares
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखा परेका विभिन्न विषयवस्तुमा कांग्रेसीहरू एकजुट भएर केन्द्रीय समिति मार्फत नै समाधान खोज्नुपर्ने बताएका छन्।
आइतबार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षरको कुरा उठेकोबारे कार्यकर्ताहरूमा अन्योलता सिर्जना भएको भन्दै सबै विषयको निचोड केन्द्रीय समितिबाटै निस्किने स्पष्ट पारे।
प्रवक्ता महतले केन्द्रीय समितिको बैठकले सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्ने जिकिर गरे। उनले पार्टीको अधिवेशन प्रक्रिया लाई पनि चाँडोभन्दा चाँडो केन्द्रीय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढाउने कुरामा दुईमत नरहेको बताए।
उनले पार्टी सभापति शेरबहादुर देउवा को बचाउ गर्दै उनीमाथि लगाइएका आरोपहरू निराधार भएको बताए। महतले भने, "पार्टी सभापति लोकतान्त्रिक आन्दोलनमा लगातार लड्नुभएको छ। शाही कालमा उहाँलाई अनेकौँ लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस भयो, उहाँ हुनुभएन।"
देउवालाई लक्षित गर्दै ‘पासपोर्ट लिएर भाग्दै थियो’ भन्ने जस्ता अनर्गल र भ्रमपूर्ण प्रचार गरिएको भन्दै महतले आक्रोश व्यक्त गरे। उनले देउवा कुनै अपराधी नभएको र सांघातिक हमला हुने नियोजित कुरा देख्दासमेत घर नछोडेको व्यक्ति भएकाले ‘देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको’ बताए। उनले पासपोर्ट लिनु हरेक नेपालीको हक भएकोमा त्यही कुरालाई अपराधका रूपमा व्याख्या गर्ने भाष्य सिर्जना गरिएकोमा आपत्ति जनाए।
प्रवक्ता महतले पार्टीभित्र भइरहेका यस्ता गतिविधिहरू पार्टीलाई कमजोर बनाउने कोशिस भएको जिकिर गरे। उनले पुराना नेताहरूलाई चुनावमा लड्न दिन्नौँ भन्ने गरिएको भन्दै जनताले नेता रोज्ने अधिकारलाई रोक्ने अधिकार कसैलाई नभएको भन्दै प्रश्न गरे।