कञ्चनपुर। तिहार नजिकिँदै गर्दा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादी लगायत मादल बनाउने समुदायको व्यस्तता निकै बढेको छ। नेपाली सांस्कृतिक चाडपर्व, विशेषगरी देउसीभैलोका लागि मादलको माग उच्च भएपछि उनीहरूलाई मादल पुर्याउन भ्याइनभ्याइ भएको छ।
मादल बनाउने पुर्ख्यौली पेसा अँगालेका वादीले तिहारको समयमा मात्रै मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने गरेको बताएका छन्। मादलको मूल्य आकारअनुसार रु दुई हजारदेखि १२ हजारसम्म पर्ने भए पनि तिहारको माग अत्यधिक भएकाले मागअनुसार मादल पुर्याउन नसकिएको उनको भनाइ छ।
तर, पुर्ख्यौली पेसामा रमाएका उनीहरूलाई अहिले कच्चा पदार्थको अभाव ले पिरोलेको छ। मादलमा प्रयोग हुने बाख्राको छाला र खमारी काठ पाउन कठिन भएको छ। वादीका अनुसार, भारतीय बजारमा छाला पाइने भए पनि सीमा नाकामा सुरक्षाकर्मीले ल्याउन रोक लगाउने गरेका छन्। नेपालमा छालाका लागि बाख्रा नै खरिद गर्नुपर्ने भएकाले त्यो अत्यन्त महँगो पर्न जान्छ।
कच्चा पदार्थको अभावका कारण पछिल्लो समय नयाँ मादल बनाउनेभन्दा पनि मादल मर्मतका लागि आउने सेवाग्राही बढी हुने गरेको वादी समुदायले बताएको छ। बढ्दो आधुनिकतासँगै तीज जस्ता पर्वमा मादलको माग घटे पनि तिहारमा भने यसको महत्व यथावत् रहेको छ।