भक्तपुर । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार लागिसकेको छ । तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छन् ।
अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालाको माग धेरै हुने हुँदा उनीहरू व्यस्त देखिएका हुन् ।
दीपावलीका लागि तिहारमा हरेक घर घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए ।
बजारमा हिजो आज विभिन्न इलेक्ट्रोनिक बत्तीहरूको बिक्री वितरण बढदै गए पनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए ।
काठमाडौँ, ललितपुरलगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोही अनुसार पाला बनाउने गरेको उनको भनाइ छ ।
होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तर अनुसार पालाको मूल्य फरक फरक हुने गरेको उनले जानकारी दिए ।