तिहार शुरु भएसँगै बढ्यो फूलको किनबेच, पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुँदै
पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड लगानी; महानगरपालिकाद्वारा आयातित फूल प्रतिबन्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
925
Shares
काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु भएसँगै फूलको किनबेच ह्वात्तै बढेको छ। फूल र रङको पर्वका रूपमा रहेको तिहारमा पूजाआजादेखि विभिन्न सामाजिक कार्यसम्म फूलको प्रयोग बढी हुने गर्छ।
नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार २०५० सालको दशकपछि व्यावसायिक रूप लिएको फूलखेतीमा नेपाल पछिल्लो समय आत्मनिर्भर हुँदै गएको छ। छोटो समयमा मनग्य आम्दानी हुने भएकाले तिहारलक्षित सयपत्री र मखमलीको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ।
देशभरका सातै प्रदेशका मुख्य सहर तथा ५२ जिल्लामा पुष्पखेती भइरहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार झण्डै २७० हेक्टर क्षेत्रफलमा गरिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी रहेको छ भने यसले ५३ हजार ५०० व्यक्तिलाई रोजगार प्रदान गरेको छ।
विशेषगरी तिहारमा काठमाडौँ उपत्यकाभित्र मात्रै ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको अनुमान छ। यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ३७ करोडको कारोबार भएकोमा माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार पुष्पजन्य वस्तुको निर्यात पनि बढेको छ। आव २०८१/८२ मा रु दुई करोड १३ लाख ६० बराबरको निर्यात भएको थियो, जुन जापान, हङकङ, अमेरिका, कतार लगायतका मुलुकमा हुँदै आएको छ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले भने यस वर्ष स्वदेशी फूललाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशबाट आयात गरिएको फूललाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पत्रकार सम्मेलनमार्फत यो नीति लागू गरिने बताएका छन्।