काठमाडौँ । हिन्दूहरूको दोश्रो महान् चाड तिहार चलिरहेको छ । शनिबारदेखि यमपञ्चक शरू भएसँगै बजारमा तिहारको चहलपहल बढिरहेको हो ।
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्वको पहिलो दिन शनिबार धनतेरस मनाइएको छ ।
आइतबार कागतिहार मनाइएको छ । सोमबार लक्ष्मीपूजा हो भने ६ गते बिहीबार भाइटीका रहेको छ । शनिबार धनतेरसको अवसरमा आज नयाँसडकका सुनचाँदी पसल लगायतमा सर्वसाधारणको भीड लाग्यो ।
त्यस्तै राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लाग्ने गरेको छ । लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्रीहरु एकै स्थानमा पाइने हुँदा पनि सो क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ ।