काठमाडौँ। प्रत्येक वर्ष कार्तिककृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आइतबार पूजाआराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धनवन्तरी जयन्ती मनाइएको हो ।
आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आइतबार बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजाआराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमा समेत मानिन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिककृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
धनवन्तरी जयन्तीलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।
काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो ।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो ।
धनवन्तरी जयन्तीका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यक्रम आयोजना गरियो ।
नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि-८ का वडाध्यक्ष प्रल्हाद रिजाल, प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, अस्पतालका प्रमुख डा नारायण अचार्य, आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख प्राडा शिव मंगल प्रसाद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयुर्वेद विज्ञ पुष्पराज पौडेल, कलाकार निखिल उप्रेती, आयुर्वेद विज्ञ निर्मल विज्ञ लगायतले आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक धनवन्तरीको विविध आयममाथि प्रकाश पारेका थिए ।
देशकै सर्वाेत्कृठ सो चिकित्सालयले गत वैशाख २५ गते पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तीय बनाउन पहिलो पटक शल्यक्रिया सेवा सुरुआत गरेको थियो ।
यसैबीच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइएको छ ।
पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । गत वर्षसम्म ठप्प प्रायः रहेको वैद्यखानाको उत्पादन अहिले बढ्न थालेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । रासस