arrow

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

'मुनामदन'का स्रष्टाको विराट योगदानको स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
devkota-news-aa.jpeg

काठमाडौँ। नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृतिहरू दिएर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने उनको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्मकै सबैभन्दा बढी बिकेको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सिर्जनामा पूर्वीय र पाश्चात्त्य दर्शनको संयोजन पाइन्छ। भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका तीन महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो। नाट्यसम्राट बालकृष्ण समले त देवकोटालाई ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए।

देवकोटामा तुरुन्त कविता लेख्न सक्ने अद्वितीय क्षमता थियो। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको उदाहरण पाइन्छ।

विसं २०१६ मा उन शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नुका साथै वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा पनि सक्रिय योगदान दिएका थिए। चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाललाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो। उनले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका थिए भने पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरणसमेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ