arrow

मखमली र सयपत्री फूलको मूल्य तेब्बर वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
sayapatri-merigold-flower.jpg

भक्तपुर । तिहार शुरू भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ । लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ ।

भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुमा किसानले एकसाता अगाडि रु ३०० प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई रु एक हजारसम्ममा बिक्री गरेका छन् । 

एक किलो सयपत्री फूलको माला बजारमा रु एक हजार पाँच सयमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका-५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले एउटा सयपत्रीको माला रु एक हजार पाँच सयका दरले खरिद गरेको जानकारी दिए ।

राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन्। 

उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको रु ३०० मा बिक्री गरेकोमा आइतबार रु ६०० मा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन् ।

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको रु ८०० मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको रु एक हजार ३०० मा बिक्री भएको छ ।

भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिइन् ।

एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई रु २५ देखि रु ३० मा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै रु ४० देखि रु.४५ मा बिक्री गरेकाले व्यापारीले रु १०० सम्ममा बिक्री गरेको बताइन् । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताइन् ।

गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढिरहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको रु ४०० देखि ५०० सम्ममा बिक्री भएको उनले बताइन् । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिइन् ।

उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष रु पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले रु एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताइन् ।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब तीन सय रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिइन् ।

बजारमा फूल र मालासँगै लक्ष्मी पूजाका लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे रु ६० मा बिक्री हुँदै आएकोमा आज रु १५० सम्ममा बिक्री भएको र बिमिरो रु ३० मा बिक्री हुँदै आएकोमा आज रु १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाइमसला र फलफूलको मूल्य आकाशिएपछि उपभोक्ता भने मारमा परेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ