arrow

संसद भवनमा आगजनी र तोडफोड भएपछि

राष्ट्रिय सभाको आगामी अधिवेशन कृषि समितिको हलबाट गर्ने तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
ekram-giriss.jpg

काठमाडौँ । गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा आगजनी र तोडफोड भएपछि संसद सचिवालयले राष्ट्रिय सभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको हल बाट सञ्चालन गर्नेगरी तयारी थालेको छ।

संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले राष्ट्रिय सभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य भएकाले संवैधानिक व्यवस्थाअनुसार ६ महिनाभित्र अर्को अधिवेशन बोलाइसक्नुपर्ने अवस्था रहेको बताए। तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगजनीले खण्डहर भएकाले बैठक बस्नसक्ने स्थिति नरहेको उनले स्पष्ट पारे।

प्रवक्ता गिरीका अनुसार, अधिवेशन आह्वान भइहालेको अवस्थामा बैठक कहाँ बस्ने भन्ने विषयमा दुई विकल्पमा छलफल भइरहेको छ:

१. निर्माणाधिन संसद भवन समयमै निर्माण सम्पन्न गर्ने। २. निर्माणाधीन भवन तयार नभएमा सिंहदरबारस्थित कृषि समितिको सभा हल बाट बैठक सञ्चालन गर्ने।

कृषि समितिको हल यसअघि पनि राष्ट्रिय सभा सञ्चालन भएको हल भएकाले यसलाई उपयुक्त मानिएको छ। यद्यपि, यहाँ दर्शक, सञ्चारकर्मी, अडियो, भिडियो कन्फरेन्स र लाइभ प्रोकास्टको व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको गिरीले बताए।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन–जी युवाहरूले संसद भवनसहित सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय र प्रहरी कार्यालयहरूमा समेत आगजनी तथा तोडफोड गरेका थिए। सरकारले अधिवेशन आह्वान गरिसकेको खण्डमा बैठक कहाँबाट सञ्चालन गर्ने भन्नेमा संसद सचिवालय स्थानको खोजीमा लागेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ