राष्ट्रिय सभाका सांसदहरूद्वारा निर्वाचनमाथि संशय, व्यापक छलफलको माग
समितिले पनि सरकारलाई बोलाएर तयारीको बारेमा छलफल गर्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
986
Shares
काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले सरकारले फागुन २१ गतेका लागि घोषित निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले निर्वाचन केन्द्रित छलफलमा ध्यान दिन सरकारलाई सचेत गराएका हुन्।
सांसद पदमबहादुर परियारले निर्वाचन राष्ट्रिय महत्वको विषय भएकाले सरकारले व्यापक छलफल अघि बढाउनुपर्नेमा जोड दिँदै समितिले पनि सरकारलाई बोलाएर तयारीको बारेमा छलफल गर्नुपर्ने बताए। उनले निर्वाचनसम्बन्धी ऐन र समग्र निर्वाचनको विषय समसामयिक र राष्ट्रिय महत्वको भएकाले छलफल गर्नु जरुरी रहेको बताए।
अर्की सांसद सुमित्रा बिसीले मुलुकमा फागुन २१ गते निर्वाचन हुने वातावरण नरहेको जिकिर गरिन्। उनले मन्त्रीहरूकै राजीनामा माग्न थालिएको भन्दै अहिलेको समय परिस्थिति हेर्दा निर्वाचन हुने अवस्था नदेखिएको बताइन्। उनले निर्वाचनको वातावरण बनाउनका लागि सरकारले शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन नसकेको आरोप समेत लगाइन्। बिसीले विदेशमा रहेका नेपालीहरूले भोट हाल्ने कुरा सुरक्षित र व्यवहारिक नहुने भन्दै यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन्।
सांसद गोमादेवी तिमिल्सिनाले संघीय संसदका सदस्यहरूको सेवा सुविधा कटाएको भन्दै सरकारको कडा आलोचना गरिन्। उनले जेन–जी आन्दोलनले ध्वस्त बनाएका राष्ट्रिय महत्वका दस्तावेजहरूको खोजी गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। मुलुकको अवस्थाबारे जानकारी लिन पनि समितिले सरकारका प्रतिनिधिहरूसँग छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताइन्।