गरिमा विकास बैङ्कले दोस्रो संस्करण ‘गरिमा रोड रेस–२०८२’ आयोजना गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
739
Shares
काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित गरिमा रोड रेस–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता मङ्सिर ६ गते (शनिवार) बिहान काठमाडौँमा हुने भएको हो।
गत वर्षदेखि सुरु गरिएको यो प्रतियोगिताको यस वर्ष दोस्रो संस्करण हो। यस पटकको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर, र यस वर्ष नयाँ रूपमा थप गरिएको भेट्रान (महिला तथा पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीमा हुनेछ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्रै आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्षभन्दा माथिका प्रतिस्पर्धीहरूलाई समेत सहभागी गराउन भेट्रान वर्ग थप गरिएको हो।
प्रतियोगितामा करिब १,००० जना धावकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।
पुरस्कार विवरण
खुला विधा (पुरुष र महिला दुवै समूह):
पहिलो पुरस्कार – रु. ५०,०००
दोस्रो पुरस्कार – रु. ३५,०००
तेस्रो पुरस्कार – रु. २०,०००
चौथो पुरस्कार – रु. १५,०००
पाँचौँ पुरस्कार – रु. १०,०००
कर्पोरेट र भेट्रान विधा (पुरुष र महिला दुवै समूह):
पहिलो पुरस्कार – रु. ३०,०००
दोस्रो पुरस्कार – रु. २०,०००
तेस्रो पुरस्कार – रु. १४,०००
चौथो पुरस्कार – रु. १०,०००
पाँचौँ पुरस्कार – रु. ७,०००
दौडको मार्ग
खुला वर्गको दौड गरिमा विकास बैङ्कको प्रस्तावित केन्द्रीय कार्यालय भवन (बालुवाटार) बाट सुरु भई बुढानीलकण्ठ नगरपालिका–३ कार्यालय भवन पुग्ने र त्यही बाटो हुँदै पुनः बालुवाटारमै समापन हुनेछ। कर्पोरेट र भेट्रान वर्गको दौड सोही स्थानबाट सुरु भई न्युरो अस्पताल (बाँसबारी) पुग्ने र त्यही बाटो हुँदै बालुवाटारमा अन्त्य हुनेछ।
दर्ता प्रक्रिया
प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि विकास बैङ्कले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ गतेदेखि मङ्सिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी दर्ता (रजिस्ट्रेसन) गर्न सक्नेछन्।
थप जानकारीका लागि गरिमा विकास बैङ्कको कल सेन्टर (०१–५९७०१७९) मा सम्पर्क गर्न सकिनेछ।
गत वर्ष आयोजित गरिमा रोड रेस–२०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित ६५० प्रतिस्पर्धीहरू सहभागी भएका थिए। यस वर्ष पनि सहभागीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने विकास बैङ्कले विश्वास व्यक्त गरेको छ।
गरिमा विकास बैङ्कले यस अभियानमार्फत सार्वजनिक स्वास्थ्य, खेलकुद र सामुदायिक एकता प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।