गरिमा विकास बैङ्कको उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न, कुल १०.५३ प्रतिशत लाभांश पारित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
656
Shares
पोखरा। गरिमा विकास बैङ्क लिमिटेडको उन्नाइसौँ वार्षिक साधारण सभा मिति २०८२ कार्तिक २७ गते (बिहीबार) कास्की जिल्लाको पोखरा महानगरपालिका–१४, होटेल पोखरा ग्राण्डमा भव्य रूपमा सम्पन्न भएको छ।
सभाले बैङ्कका सेयर धनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
वार्षिक प्रतिवेदन र लेखा परीक्षणसम्बन्धी निर्णय
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड विवरण तथा इक्विटीमा भएको परिवर्तन लगायतका सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखा परीक्षक नियुक्त गर्ने निर्णय पनि साधारण सभाले गरेको छ।
साधारण सभाले विशेष प्रस्तावहरू अन्तर्गत निम्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ
बैङ्कको अधिकृत पुँजी वृद्धि गरी रु.६ अर्ब १० करोड पुर्याउने।
काठमाडौँ महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने, बैङ्कको छाप र लोगो परिमार्जन गर्ने, साथै प्रबन्ध–पत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएको छ।
पुँजी संरचना र सेवा सञ्जाल
हाल बैङ्कको चुक्ता पुँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। यस साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर वितरणपछि बैङ्कको जारी तथा चुक्ता पुँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।
गरिमा विकास बैङ्कले हाल देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमहरू मार्फत सेवा प्रदान गर्दै आएको छ। बैङ्कले नवीनतम डिजिटल बैङ्किङ प्रविधि मार्फत सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्दै ग्राहकहरूको विश्वास निरन्तर मजबुत पार्दै आएको छ।
गरिमा विकास बैङ्कले आफ्नो १९ वर्षे यात्रामा स्थायित्व, पारदर्शिता र नवप्रवर्तनलाई आधार बनाउँदै नेपालका बैङ्किङ क्षेत्रमा सुदृढ उपस्थिति कायम गरेको छ।