देशभर घरजग्गा कारोबार र राजस्व सङ्कलनमा लगातार ह्रास
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
808
Shares
काठमाडौँ। देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाएको छ। कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ। कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा लगातार ओरालो लागेको छ।
सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्न सकेको छैन। हालैमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, चालु आर्थिक वर्षका सुरुवाती चार महिनामा राजस्व सङ्कलन यसरी क्रमशः घटेको थियो: साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५, असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ सङ्कलन भएको थियो।
विभागका अनुसार, गत कात्तिक महिनामा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन भएको थियो।