अपाङ्गता दिवसमा कांग्रेस र भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको शुभकामना
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
2.5k
Shares
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।
यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।
अपाङ्गताभएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उनीहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।
यसै अवसरमा नेपाली कांग्रेसले शुभकामना सन्देश जारी गरेको छ । पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश जारी गरेका हुन् । त्यसैगरी कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपाङ्ग सङ्घले पनि शुभकामना सन्देश जारी गरेको छ ।
यस्तो छ कांग्रेसको शुभकामना सन्देश
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा म सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले हामीलाई वास्तविक समावेशी समाज निर्माण तर्फ उन्मुख हुन र सामाजिक प्रगतिलाई थप सबल बनाउन उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिता लगायतका सवालहरूलाई नेपाली कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको छ । संविधान निर्माणको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई संस्थागत गर्न नेपाली कांग्रेसले निर्वाह गरेको अग्रणी भूमिकालाई म यहाँ स्मरण गर्न चाहन्छु । पार्टीको विधान तथा नीतिले स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको छ । आगामी दिनमा यस सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने हाम्रो प्रतिबद्धता दृढ छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सामाजिक जीवनका सबै क्षेत्रमा अपाङ्गता भएका नागरिकको सहज पहुँच, क्षमता र आवश्यकता अनुसारका अवसर, पहुँचयुक्त भौतिक संरचना तथा दिगो सहायक सेवा सुविधाहरू आजका प्रमुख आवश्यकता हुन् । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसर र सुरक्षित वातावरणमा बाँच्न पाउनु सरकार तथा राजनीतिक दलको साझा दायित्व हो । हामीले आवश्यक अवसर र वातावरण निर्माण गर्न सके, अपाङ्गता भएका नागरिकहरूले राष्ट्रका सबै क्षेत्रमा उत्कृष्ट र प्रेरणादायी योगदान दिन सक्नेछन् । नेपाली कांग्रेस समावेशिता, समान अवसर, मानव–अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहनेछ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्बन्धित संघ–संस्थाहरू तथा अधिकार–अभियानमा समर्पित सबै अभियान्ताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
पूर्णबहादुर खड्का
कार्यवाहक सभापति
यस्तो छ लोकतान्त्रिक अपाङ्ग सङ्घको शुभकामना सन्देश
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरुको दिवसको अवसरमा म अपाङ्गता भएका सबै नागरिक, उनीहरूको परिवार र अधिकारका लागि निरन्तर संघर्षरत साथीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। यस वर्षको नारा “Fostering disability-inclusive societies for advancing social progress” ले हामीलाई समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणतर्फ अझ दृढ बनाएको छ। यो नाराले समाजका हरेक तहमा अपाङ्गता भएका व्यक्तिहरूको पूर्ण सहभागिता, समान अवसर र सम्मान सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो भन्ने कुरालाई अझ सशक्त बनाएको छ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाली कांग्रेसको भातृ संगठनको रूपमा, संविधान निर्माणको क्रममा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र मुद्दा सुनिश्चित गर्न नेतृत्वदायी र अग्रणी भूमिका खेलेको स्मरण गर्दछौं। हामी हाम्रा मुद्दामा स्पष्ट छौँ, अपाङ्गता भएका व्यक्तिहरूले समाजभित्र सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण, शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच, पहुँचयुक्त भौतिक संरचना र आर्थिक सशक्तिकरणको माध्यमबाट आफ्ना अधिकार प्रयोग गर्न सकून् भन्ने हाम्रो अटल विश्वास हो।
हामी जनसङ्ख्याको आधारमा समावेशी समानुपातिक सिद्धान्तअनुसार अधिकार स्थापित गर्न, र वडा तहदेखि केन्द्रीय तहसम्म पार्टीभित्रका संरचना तथा संविधानले परिकल्पना गरेका राज्यका अङ्गहरूमा प्रभावकारी राजनीतिक सहभागिता सुनिश्चित गर्न निरन्तर खटिरहने छौं। समाजभित्र पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरू समेत व्यक्तिगत सहयोगी र आफूलाइ अनुकूल हुने सहायक सामाग्रीको अभाव विना आफ्नै समाज र घरपरिवारमा सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण नभएसम्म हामी निरन्तर लडिरहनेछौं।
हाम्रो विश्वास अटल छ, अवसर पाए अपाङ्गता भएका व्यक्तिहरू नेतृत्व, सिर्जनशीलता, सेवा र राष्ट्र निर्माणका हरेक क्षेत्रमा असाधारण योगदान दिन सक्षम छन्। यही विश्वासले हाम्रो सङ्घलाई निरन्तर काम गरिरहने प्रेरणा दिन्छ।
म विश्वास लिन्छु कि आगामी दिनमा राजनीतिक दल, राज्यका विभिन्न अङ्ग र नागरिक समाजले समेत संविधानको मर्म र भावना अनुसार काम गर्नेछन्। यदि कुनै पक्षबाट संविधानको मर्म र भावना विपरीत प्रस्तुति भएमा हामी निरन्तर सचेत र खबरदारी गरिरहने छौं।
यस दिवसले हामी सबैलाई स्मरण गराओस्, अपाङ्गता भएका व्यक्तिहरूलाई समान अधिकार र अवसर, समावेशिता, राज्यका हरेक तहमा पहुँच, गरिमामय जीवन र समाजभित्र सम्मानपूर्वक बस्ने अधिकार दिलाउन, अनि उनीहरूलाई राष्ट्र निर्माणका सक्रिय, गरिमामय र सशक्त सहभागी बनाउने यात्रामा निरन्तर लागिरहने छौं।
जय नेपाल।