प्रदीप पौडेलको दाबी - महाधिवेशनबिनै निर्वाचनमा गए कांग्रेसको शर्मनाक हार [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ८ मंगलबार
972
Shares
काठमाडौँ । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
पार्टीभित्र प्रतिनिधि सभा पुनःस्थापनाका लागि सांसदहरूको हस्ताक्षर अभियान चलिरहेका बेला नेता पौडेलले निर्वाचनको वातावरण बनाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
उनले वर्तमान राजनीतिक गतिरोधको निकास निर्वाचनबाट मात्र सम्भव भएकाले कांग्रेसले सोही अनुसारको भूमिका खेल्नुपर्ने बताए। उनले पार्टीका सांसदहरूको व्यक्तिगत असन्तुष्टि वा धारणाभन्दा पनि पार्टीको संस्थागत निर्णय नै सर्वोपरि हुने जिकिर गरे ।
नेता पौडेलले भने, ‘‘हामी चुनावमा नै लाग्नुपर्छ । चुनावमा देशलाई लैजाने, चुनावको वातावरण बनाउने, निष्पक्ष, स्वच्छ ढंगबाट गराउने कुरामा नै हाम्रो सहयोगी भूमिका हुनुपर्छ । एउटा मुख्य दलले निर्वाचनमा देशलाई लैजानका लागि के भुमिका गर्नुपर्छ ? त्यो गरेर जानुपर्छ । हामीले संस्थागत ढंगले निर्णय गरेको विषय पनि हो ।’’
सांसदहरूको समयावधि नपुगेको भन्ने गुनासो र अदालतमा हस्ताक्षर बुझाउने विषयलाई उनले नितान्त व्यक्तिगत विषयको संज्ञा दिए। पार्टीले सर्वसम्मत रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेकाले त्यसलाई ‘क्रस’ गरेर जाने अधिकार कसैलाई नभएको उनको तर्क छ ।
उनले भने, ‘‘मेरो समयावधि यति थियो, त्यो मैले पूरा गर्न पाइँन भनेर अदालतमा हस्ताक्षर पठाउने कुरा उसको मौलिक विषय हो कि होइन ? मलाई लाग्छ, त्यो होइन । हामीहरूले संस्थागत ढंगबाट जे निर्णय गर्यौँ, त्यही निर्णयलाई कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्छ । यो नै हाम्रो जिम्मेवारी हो ।’’
नेता पौडेलले निर्वाचनमा जानुपूर्व पार्टीको महाधिवेशन सम्पन्न गर्नु अनिवार्य रहेको समेत बताए । महाधिवेशन नगरी निर्वाचनमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नसक्ने उनको चेतावनी छ ।
एमालेलगायतका अन्य दलले अधिवेशन गरिसकेको अवस्थामा कांग्रेसले पनि आफूलाई अद्यावधिक गरेरमात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ छ ।
महाधिवेशनको अपरिहार्यताबारे पौडेलले भने, ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले शर्मनाक हार हुने स्थिति व्यहोर्छ । निर्वाचन त जित्नका लागि भाग लिने हो । कांग्रेस पार्टीले जित्नकै लागि मात्रै निर्वाचनमा जान्छ भन्ने पनि होइन, तर जित्ने कुरा स्वाभाविक रूपमा प्राथमिकतामा हुन्छ । अधिवेशन गरेर निर्वाचनमा बढी सिट ल्याइन्छ, जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्यो नि ।’
कुराकानीका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँगको भेटको प्रसंग पनि कोट्याए ।
उनले पछिल्लो समय उठेका ‘जेन-जी’ आन्दोलन र युवाहरूको धारणाप्रति सभापति देउवा सकारात्मक रहनुभएको खुलासा गरे ।
सभापतिसँगको कुराकानी उद्धृत गर्दै उनले भने, ‘‘सभापतिजीलाई मैले भेटेको थिएँ । त्यो घटनाको संक्षिप्त समीक्षा गर्ने सन्दर्भमा सभापतिजीले मलाई ‘जेन-जी’ ले बचायो नै भन्नुभयो । प्रष्ट ढंगले भन्नुभएको हो । जेन-जीका धारणाहरूप्रति, त्यो आन्दोलनप्रति सभापतिजीको असाध्यै सकारात्मक दृष्टिकोण छ । उठेका मुद्दाहरूको बारेमा उहाँले एप्रिसिएट गर्नुभएको छ ।’’
नेता पौडेलले पार्टीलाई व्यवस्थित बनाउन, नयाँ पुस्तालाई आकर्षित गर्न र नीतिगत स्पष्टताका लागि महाधिवेशनको विकल्प नभएको भन्दै तोकिएकै समयसीमाभित्र अधिवेशन प्रक्रिया अघि बढाउन सबै नेता कार्यकर्तालाई आग्रह समेत गरे ।