काठमाडौं । काठमाडौंमा वर्षकै चिसो भएको छ । उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियसमा झरेको छ । वुधबार न्यूनतम तापक्रम ०.९ डिग्रीमा झरेपछि वर्ष भरीकै चिसो भएको हो । अधिकतम तापक्रम भने १५ र १६ डिग्रीकोबीचमा छ । आद्रता बढ्दै गए तापक्रम माइनसमा झर्न सक्ने मौसमविद्हरुले जनाएका छन् । मौसमविद् शान्ति कँडेलले माइनस १ डिग्री सेल्सियमा झर्ने कुरा भन्न नसकिने बताइन् । कँडेलले भनिन्,‘सम्भावनाको विषय भएकाले यसै भन्न सकिँदैन, जहाँ सम्म माइनस १ भने हुन सक्दैन ।’
डिसेम्बरमा माइनस भएको भने रेडकर्ड छ । सन् १९७७ डिसेम्बर ३१ मा उपत्यकाको तापक्रम माइनस २ डिग्री मापन भएको थियो । त्यसपछि पनि २ पटक उपत्यकाको तापक्रम माइनसमा झरेको रेकर्ड छ । उत्तर–पश्चिमी हावा हिमालबाट छिरेकाले वायु चिसिएको मौसमविदहरुको भनाई छ । उपत्यकामा विहान पख आद्रता बढेको छ । दिउँसो कम हुने आद्रता विहान ९९ प्रतिशत र कहिले काँही १०० प्रतिशत सम्म पुग्ने गरेको छ ।
सितलहर सुरु भईसकेको छैन
डिसेम्बर अन्तिम र जनवरी पहिलो सातामा सुरु हुने सितलहर सुरु भइसेको छैन । तराईमा विहान पख लाग्ने कुहिरोले वायु चिसिएपनि सितलहर अझै सुरु नभएको मौसमविद्हरुले बताएका छन् । १९९० को दशक देखि नेपालको तराई क्षेत्रमा सितलहर सुरु भएको मानिन्छ । १९९८ मा सबैभन्दा लामो अर्थात् १ महिना सम्म सितलहर चलेको तथ्याङ्क छ । पछि २००० देखि सितलहर केही बढेको देखिन्छ ।
उडानमा असर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानहरुमा चिसोले असर गरेको छ । बिहान पख अन्तर्राष्ट्रिय उडान हुन सक्दैनन् । आन्तरिक उडान समेत अवस्था हेरेर मात्रै संचालन हुने गर्दछन् । विहानको समयमा भिजिविलिटी कम हुने भएका कारण उडानमा समस्या भएको हो । आन्तरिक उडानका लागि समेत १५ सय मिटर भिजिविलिटी चाहिनेमा विहान ८ सय देखि एक हजार मिटर सम्म मात्र भिजिविलिटी हुने गरेको छ । अवतरणका लागि धेरै आवश्यक नपरेपनि उडानका लागि आवश्यक भन्दा बढी नै चाहिने मौसमविद्हरु बताउँछन् । अन्तर्राष्ट्रिय उडानका लागि ३ हजार मिटर अर्थात ३ किलोमिटर बढी भिजिविलिटी आवश्यक पर्दछ । विहान ९ बजे अघि विमानस्थलबाट हुने बाह्य उडान हुन सक्दैनन् । जसले उडान कटौती हुने गरेको छ ।
भूकम्पपीडितलाई सास्ती
चिसो बढेसंगै भूकम्प पीडितहरु मर्कामा परेका छन् । भूकम्पले बढी क्षति पुगेको सिन्धुपाल्चोकको एकै गाविसमा ८ जनाको मृत्यु भइसकेको छ । कयौं पीडितहरु कमजोर टहरा र टालेका, फाटेका त्रिपालमा रात गुजारिरहेका छन् । कामकाजी पीडितहरु चिसोको बढी जोखिममा छन् । राजधानीमै समेत कयौं स्थानमा भूकम्प पीडितहरु विचल्ली छ । बढी क्षति पुगेको ३१ जिल्लाका पीडितहरु उचित बासको अभावमा चिसोको जोखिम मोलिरहेका छन् ।
अनुसन्धान किन कम ?
विकासोन्मुख मूलुक भएकैले हाम्रा आवश्यकता थुप्रै छन् । जिविकोपार्जनबाहेक अन्य क्षेत्रमा कम लगानी हुन्छ । मौसमको सोध खोजबारे हाल सम्म खास पहल भएको छैन । सरकारले शोध खोजका लागि खर्च र योजना निर्माण गर्न सकेको छैन । अन्य मूलुकहरुमा रिसर्च एण्ड डेभलप्मेन्ट भन्ने छुटै विभाग हुन्छ । नेपलको जल तथा मौसम पूर्वानुमान महाशाखामा सो को व्यवस्था छैन । मौसमविद् कँडेलले भनिन्,‘नेपालमा रिसर्च कम हुन्छ, जसमा ठोस पहल भएको छैन ।’ अनुसन्धान गर्न समय समेत निकै खर्च हुन्छ ।
उनले भनिन्,‘मैले आफुले गरेको रिसर्च पूरा हुन सकेको छैन ।’ नेपालमा एउटै क्षेत्रमा वर्षै पिच्छे खर्च हुने गरेको छ । त्यसको प्रतिफल लगानी अनुसार उठेको छैन । अस्थिर राजनीति र अस्थिर सरकारकै कारण कयौं योजनाहरु अलपत्र परेका छन् । संक्रमणकालिन समयमा फाइदा उठाउनेहरुले करोडौं भ्रष्टाचार र अनियमितता गरेका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । जसको फलस्वरुप नागरिक सास्तीमा छन् । ठोस योजना नबन्दा निम्न वर्गीय नागरिक प्राकृतिक विपद्को सिकार भइरहेका छन् ।