arrow

कांग्रेस कार्यसम्पादन समिति बैठक

राष्ट्रिय सभाका उम्मेदवार टुङ्ग्याउँदै कांग्रेस, आजै मनोनयन दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
congress------------.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। 

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन आजै भएकाले यो बैठकलाई निर्णायक मानिएको छ। बैठकले पार्टीको भागमा परेका सिटहरूका लागि उम्मेदवारहरूको अन्तिम नामावली तय गर्ने मुख्य कार्यसूची रहेको छ।

कांग्रेसले यसपटक राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग चुनावी तालमेल गरेर जाने औपचारिक निर्णय गरेको छ। १८ सिटका लागि हुने यस निर्वाचनमा कांग्रेसले ७ सिट लिने र बाँकी सिटहरू अन्य साझेदार दलहरूलाई बाँड्ने गरी मोटामोटी सहमति जुटेको छ। 

आजको बैठकमा ती सिटहरूमा कुन क्लस्टरबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सघन छलफल हुने छ। मनोनयन दर्ताको समय दिउँसो ३ बजेसम्म मात्र रहेकाले बैठक लगत्तै उम्मेदवारहरूको नाम सार्वजनिक गरी दर्ता प्रक्रिया अघि बढाउने तयारी छ।

बैठकमा निर्वाचनका साथै पार्टीको आन्तरिक महाधिवेशनको विवादबारे पनि छलफल हुने बताइएको छ। संस्थापन पक्षले आगामी वैशाखका लागि नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसके पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले भने विधानअनुसार तत्कालै विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन्। 

निर्वाचनको चटारोकै बीचमा पार्टीभित्र देखिएको यो समानान्तर गतिविधि र वैचारिक मतभेदलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि नेतृत्वमाथि ठूलो दबाब सिर्जना भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ