arrow

पुस २७ र २८ मा कांग्रेसको विशेष महाधिवेशन आह्वान, स्वामित्व लिन पार्टी नेतृत्वलाई आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
subash-pokhrel-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीयविशेष महाधिवेशन आह्वान गरेको हो । 

महाधिवेशनको सूचना तथा प्रचारपसार समिति संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरे ।

उनले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकतावद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उनको दाबी छ । 

उनले महाधिवेशनको तयारीका लागि १८ ओटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिए ।

उनका अनुसार पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन गरिएका छन् । 

जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको समेत पोखरेलले जानकारी दिए ।

उनले भने, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही पुस २७-२८ गते काठमाडौँमा हुने गइरहेको केन्द्रीय विषेश महाधिवेशनमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय उत्साहपूर्ण उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौँ। यसका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ। पार्टी विधानको धारा १५ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय मानेको छ। र यसले लिने हरेक निर्णय आफैैँमा वैद्यता प्राप्त गर्दछ । अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ, आयोजनाको स्वामित्व लिनेछ । विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो । वर्तमान संवेदनशील घडीमा नेपाली काँग्रेसलाई एकतावद्ध गर्दै थप मजबुत बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास लिएका छौँ। पार्टीका सबै तह र निकायबाट यसमा पूर्ण सहयोग र योगदान प्राप्त हुने अपेक्षा समेत लिएका छौँ। विशेष महाधिवेशनको तयारीका लागि हामीले १८ ओटा विभिन्न समिति पनि बनाएका छौँ। केन्द्रीयसमितिलाई सधैं सहयोग गर्न तयार भएको कारण हामीले कार्यकर्ता तहबाटै महाधिवेशन व्यवस्थापनका लागि समितिहरु बनाएका छौँ ।’

पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रीय महाधिवेशन आह्वान गरेको हो । 

पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै अगामी जेठ मसान्तसम्मको लागि केन्द्रीयकार्यसमितिको कार्यअवधि थप गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ